काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन आज मन्त्रालयले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी)कै उपस्थितिमा दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामी मालघाटबाट तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको थियो ।
मन्त्रालयका अनुसार समितिले घटनाको अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको थियो ।
नेकपा एमालेले भने दाचूला घटना थामथुम पार्न खोजिएको भन्दै सरकारको आलोचना गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले भारतसँग स्पष्ट कुरा गर्न नसकेको भन्दै आलोचना गरेको छ ।




