काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु हुने समय र प्रभावित हुने जिल्लाको विवरण अध्यावधिक गरेको छ।
विभागले आज बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनअनुसार आज अपराह्न ४ बजेदेखि तीव्र गतिको हावाहुरी सुरु हुने जनाएको छ।
हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्लाहरू प्रभावित हुने सम्भावना छ।
यस्तै लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासीसहित आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव पर्नेछ।
गण्डकी प्रदेशको नवलपुर तथा बागमती प्रदेशको चितवन आसपासका क्षेत्र पनि प्रभावित हुन सक्ने सूचनामा उल्लेख छ।
यसैगरी मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्लामा पनि हावाहुरीको जोखिम रहेको छ।
कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा पनि तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
अध्यावधिक सूचनाअनुसार हावाहुरी आज अपराह्न ४ बजे सुरु भई भोलि बिहान ६:४५ बजेसम्म कायम रहनेछ।
यसअघि विभागले वैशाख १६ गते साँझ ५:४५ बजेदेखि हुरी सुरु भई १७ गते बिहान ७:४५ बजे समाप्त हुने अनुमान गरेको थियो।
विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र असिनासहितको वर्षा प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने सम्भावना छ।
देशका अधिकांश स्थानमा यसको प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।





