काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सरकार गठनको केही समय बितिसक्दा पनि जनताका चाहना र आकांक्षा पूरा हुने संकेत नदेखिएको उनको दाबी छ । बुधबार पार्टीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारका सामु समाजवादतर्फ अघि बढ्ने कि पुरानै बाटोमा जाने भन्ने गम्भीर प्रश्न खडा भएको बताए ।
देशलाई विकास र परिवर्तनको दिशामा लैजान कम्युनिष्टहरूले अग्रसरता लिनुपर्ने भए पनि वर्तमान अवस्थाले निराशा मात्रै बढाएको उनको भनाइ छ । उनले राजनीतिमा व्याप्त बेथितिहरू अन्त्य गर्न सरकारका प्रयास पर्याप्त नभएको उल्लेख गरे ।
नेता नेपालले भने, “मर्निङ शोज द डे भनिन्छ, तर सरकारको लक्षण राम्रो देखिएको छैन। समाजमा विद्यमान असमानता, भेदभाव र अन्याय अन्त्य गर्ने सवालमा सरकार मौनजस्तै देखिन्छ। जनतामा कुनै उत्साह देखिँदैन।”
उनले जनताको मनोभावना बुझ्न नसक्ने सरकार सफल हुन नसक्ने टिप्पणी गर्दै पार्टीले सरकारको गतिविधिलाई नजिकबाट अनुगमन गर्ने र आवश्यक रणनीतिसहित अघि बढ्ने संकेत गरेका छन् ।




