मध्यपूर्वमा जारी युद्ध र त्यसले निम्त्याएको क्षेत्रीय तथा विश्वव्यापी तनावबीच टर्कीले उच्चस्तरीय कूटनीतिक पहल अघि बढाएको छ । पाकिस्तान, साउदी अरेबिया र इजिप्टका विदेशमन्त्रीहरूलाई एकै ठाउँमा ल्याउँदै टर्कीले शुक्रबार अन्टाल्यामा महत्त्वपूर्ण कूटनीतिक फोरम आयोजना गरेको छ । यसलाई युद्धविरामलाई स्थायी बनाउने प्रयासको रूपमा हेरिएको छ ।
भूमध्यसागर किनारको पर्यटकीय सहर अन्टाल्यामा सुरु भएको तीनदिने ‘अन्टाल्या डिप्लोमेसी फोरम’ लाई राष्ट्रपति रेसेप तैयप एर्दोगानले सम्बोधन गर्दै तनाव घटाउने र वार्तालाई निरन्तरता दिने आवश्यकतामा जोड दिनुभयो । उहाँले संसद्मा यसअघि दिएको अभिव्यक्तिलाई दोहोर्याउँदै वार्ता बिना समाधान सम्भव नभएको उल्लेख गर्नुभएको थियो ।
यस फोरमको साइडलाइनमा टर्की, पाकिस्तान, साउदी अरेबिया र इजिप्टका विदेशमन्त्रीहरूबीच विशेष बैठक हुने तयारी गरिएको छ । यद्यपि बैठकको समय सार्वजनिक गरिएको छैन, तर छलफलको मुख्य केन्द्रविन्दु मध्यपूर्व युद्ध, युद्धविरामको भविष्य र स्ट्रेट अफ होर्मुजमा जारी नाकाबन्दी रहने अपेक्षा गरिएको छ ।
यसै सन्दर्भमा पाकिस्तानले क्षेत्रीय कूटनीतिमा आफ्नो सक्रियता बढाएको छ । गत सप्ताहन्तमा उसले इरान र संयुक्त राज्य अमेरिकाबीच दुर्लभ वार्ता आयोजना गरेको थियो, जुन निष्कर्षविहीन भए पनि संवादको ढोका खुला राख्न सफल भएको मानिएको छ । बिहीबार पाकिस्तानी सेना प्रमुखले तेहरानमा वरिष्ठ इरानी वार्ताकारहरूसँग भेटवार्ता गरी वार्ता प्रक्रियालाई अगाडि बढाउने प्रयास गर्नुभएको थियो ।
अमेरिकी प्रशासनले पनि इरानसँगको अर्को चरणको वार्ता इस्लामाबादमा हुन सक्ने सङ्केत दिएको छ । यसअघि भएको वार्तामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नुभएको थियो ।
यसैबीच पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले क्षेत्रीय भ्रमणका क्रममा कतारको दोहामा त्यहाँका शासकसँग भेटघाट गर्नुभएको छ र अन्टाल्या फोरममा सहभागी हुँदै राष्ट्रपति एर्दोगानसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । इस्लामाबादले अमेरिका–इरान वार्ताको दोस्रो चरण चाँडै सुरु गराउन दबाब दिइरहेको छ ।
टर्कीले पनि कूटनीतिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । रक्षा मन्त्रालयका एक स्रोतका अनुसार अस्थायी युद्धविरामलाई स्थायी बनाउन आवश्यक सबै सहयोग प्रदान गरिनेछ । स्रोतले युद्धको प्रभाव क्षेत्रीय मात्र नभई विश्वव्यापी रूपमा फैलिएको उल्लेख गर्दै छिटो समाधान आवश्यक रहेको बताएको छ ।
इजरायलप्रति आलोचनात्मक दृष्टिकोण राख्दै आएको टर्कीले पनि युद्धविराम प्रयासमा सक्रिय भूमिका खेलिरहेको छ । इजिप्ट र पाकिस्तानसँग मिलेर टर्कीले द्वन्द्व रोक्न कूटनीतिक पहललाई अघि बढाएको छ । अन्काराले लेबनानलाई समेत युद्धविराम प्रक्रियामा समावेश गर्नुपर्ने धारणा राख्दै आएको छ, जहाँ इजरायली आक्रमणको प्रभाव देखिएको छ ।
विदेशमन्त्री हाकान फिदानले स्ट्रेट अफ होर्मुजलाई सकेसम्म चाँडो पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त जलमार्गलाई अन्तर्राष्ट्रिय स्वतन्त्र मार्गका रूपमा कायम राख्नुपर्ने बताउँदै त्यहाँ कुनै पनि अवरोध स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
अन्टाल्या फोरममा १५० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ, जसमा २० भन्दा बढी राष्ट्र तथा सरकार प्रमुखहरू रहनेछन् । सिरियाका राष्ट्रपति अहमद अल–सारा र रुसी विदेशमन्त्री सर्गेई लाभरोभको उपस्थिति पनि रहने जनाइएको छ ।




