देश

राजवंशी समुदायमा ‘सिरुवा पर्व’को उल्लास

झापा। पूर्वी नेपालका आदिवासी राजवंशी समुदायले मनाउने सबैभन्दा ठूलो चाड ‘सिरुवा पावनी’ आजदेखि सुरु भएको छ। हरेक वर्षको वैशाख १, २ र ३ गते सिरुवा पावनी मनाउने प्रचलन छ।

राजवंशीसँगै ताजपुरिया र गनगाई समुदायले समेत मनाउने यस पर्वको आज पहिलो दिनलाई जल सिरुवा, दोस्रो दिनलाई कादो सिरुवा र अन्तिम दिनलाई रङ सिरुवा भनिने गौरीगञ्जका आत्माराम राजवंशीले बताए।

उनका अनुसार जल सिरुवामा एकले अर्कोलाई पानी छ्याप्ने, कादो सिरुवामा हिलो छ्याप्ने र रङ सिरुवामा अबिर दलेर शुभकामना तथा आपसी सद्भाव व्यक्त गर्ने प्रचलन रहिआएको छ।

पहिलो दिन पानी सिरुवामा महिलाहरुले सात प्रकारका हरियो सब्जी पकाउने चलन छ । यसलाई ‘सात सागी’ भनिन्छ। त्यसरी पकाएको सब्जीलाई राखेर भोलिपल्ट कादो सिरुवाका दिन पन्ता भातसँग खाने चलन छ। सात सागीसँगै अठिया केराको सेवन पनि गर्ने चलन छ।

औषधीय गुण भएको यो केराको गुदीमा दानाको मात्रा धेरै हुन्छ । झाडा पखाला र पेटको जलन हुँदा आरामका लागि यसको सेवन गरिँदै आएको छ।

सिरुवा पावनीमा नयाँ वर्षभरि कसैलाई रोगव्याधि नलागोस् भनेर कामना गरिन्छ । सार्वजनिक स्थानमा घाटोसरी बनाउने र घाटोसरी भजन गाउने विशेष प्रचलन छ। सिरुवा पर्व सद्भाव साटासाट गर्ने पर्व हो । यसमा ग्रामथान र नदी गएर पूजापाठ गर्ने, मौलिक परिकार खाने र संस्कृति झल्किने विविध कार्यक्रम गरिन्छ।

मौलिक भाषा, भेषभुषा र संस्कृति रहेको यस समुदायको मुख्य बसोबास झापा, मोरङ र सुनसरीमा रहेको छ। २०७८ को जनगणनाअनुसार राजवंशीको कूल जनसङ्ख्या एक लाख ३२ हजार ५६४ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *