काठमाडौँ । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टीलाई सत्ता र स्वार्थको राजनीति भन्दा बाहिर निकालेर विधि, सुशासन र परिणाममुखी नेतृत्वतर्फ लैजानुपर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले फेरि ‘वाम एकता’को प्रयासमा लाग्नुको साटो पार्टी सुधारमा ध्यान दिनुपर्ने उल्लेख गरेका छन्। “हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आएको भन्दै पुनः वाम एकताको दौडधुपमा छन्,” उनले भने, “तर एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि सीमित व्यक्तिको स्वार्थका लागि भन्ने प्रश्न उठ्छ।”
पाण्डेले एमाले ऐतिहासिक विरासत बोकेको बलियो पार्टी भएकाले तात्कालिक राजनीतिक लाभभन्दा दीर्घकालीन सुदृढीकरणमा ध्यान दिन आवश्यक रहेको बताए। विचार र गन्तव्यबिनाको एकताले पार्टीको मूल्य र मान्यतालाई कमजोर बनाउने उनको भनाइ छ।
उनले पार्टी पुनर्निर्माण गर्दै क्षमतावान र दक्ष, विशेषगरी युवाहरूलाई समेट्नुपर्ने आवश्यकता औँल्याए। यसो नगरे पार्टी झन् साँघुरिँदै जाने चेतावनी पनि उनले दिएका छन्।
विगतमा वैचारिक आधारबिनाको एकताको नतिजा भोगिसकेको उल्लेख गर्दै उनले त्यस्तो अभ्यास दोहोर्याउन नहुने बताए। “हिजो मौन बस्नु गल्ती थियो, आज पनि नबोल्नु गम्भीर हुनेछ,” उनले भने, “अब एमालेले नयाँ मार्गमा अघि बढ्ने आँट गर्नैपर्छ।”




