काठमाडौँ । मन्त्री पद नपाएपछि गण्डकी प्रदेशका एक सांसदले पदबाट राजीनामा दिएका छन्।
नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिएका हुन्। बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्।
उनले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागू हुने उल्लेख गरेका छन्। राजीनामा पत्रमा आफूलाई निर्वाचित गराउन विश्वास र मत दिने मतदाता तथा समर्थकप्रति आभार व्यक्त गर्दै जनताको अपेक्षाअनुसार काम गर्न नसकेकोमा क्षमायाचना गरेका छन्।
कुँवरले कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने बताएका छन्। साथै आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।
कुँवर नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुन्। आजै गण्डकी प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन हुँदा उनी मन्त्रीका आकांक्षी रहे पनि नयाँ मन्त्रिमण्डलमा उनको नाम समेटिएको थिएन।





