काठमाडौं । नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन(डिएलए)ले वरिष्ठ अधिवक्ताहरुलाई गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । एसोशिएसनको अनुशासन समितिले गत असोज २९ गते गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । वरिष्ठ अधिवक्ता हरिहर दाहाल, प्रेमबहादुर खड्का, यदुनाथ खनाल तथा अधिवक्ता विजयप्रसाद मिश्र र श्रीराम दवाडीमाथि गरेको अनुशासनको कारबाही केन्द्रीय समितिले फुकुवा गर्ने निर्णय गरेको हो ।
अध्यक्ष योगेन्द्रबहादुर अधिकारी र महासचिव लक्ष्मीदेवी रावलद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ, संस्थालाई अझ सुदृढ, मजबुत बनाउँदै एक ढिक्का राख्न यस संस्थासँग आबद्ध सम्पूर्ण लोकतन्त्रवादी कानुन व्यवसायीहरु अझ क्रियाशील र अनुशासित रहने विश्वास गरिएको छ ।
संस्थाको केन्द्रीय महाधिवेशन समपन्न गरी समयमै नेतृत्व हस्तान्तरण गर्ने प्रजातान्त्रिक संस्कार र पद्धति रहेको र यसै आदर्शप्रति हाम्रो अटल विश्वास रहेको व्यहोरा अवत गराउँदै यस संस्थाको आगामी केन्द्रीय महाधिवेशन २०७८ साल साउन महिनामा सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष अधिकारी र महासचिव रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




