देश

प्रशासकीय अधिकृत गुरागाईंको बालेनलाई स्पष्ट जवाफः आरोप होइन, प्रमाण चाहिन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ गुरागाईंले काठमाडौं टावरसम्बन्धी आरोपप्रति कडा प्रतिक्रिया जनाउँदै आफूविरुद्ध नियोजित चरित्र हत्या भइरहेको दाबी गरेका छन्। शनिवार पत्रकारहरूसँगको कुराकानीमा गुरागाईंले भनाइ स्पष्ट पार्दै भने, “म दोषी ठहरिने कुनै कार्यमा संलग्न छैन। मैले मात्र अघिल्लो निर्णय अनुमोदन गरेको हुँ, नयाँ निर्णय होइन।”

उनको भनाइ अनुसार, काठमाडौं टावरको नक्शा पास गर्ने प्रक्रियामा उनी अन्तिम चरणमा पुगेका थिए, जहाँ नगरप्रमुखको आदेश अनुसार उनले फाइल अनुमोदन गरेका हुन्। “यदि म कानुनी रूपमा दोषी ठहरिए भने कारबाही भोग्न तयार छु,” गुरागाईंले भने, “तर ममाथि अनावश्यक रूपमा लाल्छना लगाइँदैछ, जुन गलत छ।” काठमाडौं टावरको फाइलमा पहिलेका प्रशासकीय अधिकृत बसन्त अधिकारीको हस्ताक्षर, नगरप्रमुख बालेन शाहको जरिवानासम्बन्धी आदेश र त्यसको आधारमा गुरागाईंले फाइल स्वीकृत गरेको उल्लेख स्पष्ट छ।

बजेट रोकिएको विषयमा पनि उनले स्पष्ट पारे, “बजेट रोकिनु हुँदैन भन्नेमा म स्पष्ट छु। कुनै पनि निर्णयमा म अवरोध बन्ने पक्षमा छैन।” गुरागाईंले बालेन शाहको सचिवालयबाट आफूविरुद्ध आरोप लगाइनु अनुचित रहेको भन्दै भने, “कसैले भ्रष्टाचारी भन्यो भन्दैमा म भ्रष्टाचारी ठहरिँदैन। त्यो त प्रमाणसहित सम्बन्धित निकायले भन्नुपर्ने कुरा हो।” उनले प्रशासनमा लामो समयदेखि बैठक नबसेको अवस्था आफू नहुँदा पनि रहेको स्मरण गराउँदै, विवादलाई तथ्यको आधारमा हेर्न सबैलाई आग्रह गरे।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *