नारायणगढ । नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अब नेपालमै सबै रोगको उपचार गर्न सक्नेगरी पूर्वाधार विकास भइसकेको बताएका छन् ।
प्राडा. यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षबारेमा लेखिएका लेखहरुको सङ्ग्रह लोकतान्त्रिक समाजवादका भाष्यकार प्राडा. यज्ञप्रसाद अधिकारी नामक पुस्तक विमोचन समारोहमा बुधवार महामन्त्री थापाले रहरले उपचारका लागि विदेश जानेलाई छाडेर बाध्यताले उपचार गर्न अब विदेश जान नपर्ने दाबी गरे ।
‘हामी लामो समय सत्तामा रहेका नाताले पनि यो दावी गर्न सक्छौं कि अहिले कुनै पनि रोगका लागि उपचारमा विदेश जानुपर्ने अवस्था छैन’, उनले भने । उनले नेपालमै उपचार सक्षम छ भनेर जनविश्वास दिलाउन जरुरी रहेको बताए ।
उनले प्राडा. अधिकारीले लोकतान्त्रिक आन्दोलनमा गरेका योगदानको चर्चा गरे । कार्यक्रममा काँग्रेस नेता गुरु घिमिरेले प्राडा. अधिकारी नेपाली राजनीतिमा लोकतान्त्रिक समाजवादका भाष्यकार विज्ञ भएकाले अहिले राजनिति उनले स्थापित गरेकै बाटोमा हिँडेको बताए । लोकतान्त्रिक समाजवादकै बाटोमा देश अगाडि बढेको छ, उनले भने ।
लेख सङ्ग्रहमा विभिन्न ६८ जना विज्ञहरुले लेखेका छन् ।




