काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले शेरबहादुर देउवा पक्षबाट हुन लागेको समानान्तर महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
शनिबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दै बस्नेतले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेको अनुभवका आधारमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताएका छन्।
पार्टी संगठनभित्र विभिन्न तह र जिम्मेवारीमा रहेर काम गरेको अनुभवलाई अब महामन्त्रीका रूपमा उपयोग गर्ने उनको तयारी छ।
नेपाली कांग्रेसको आन्तरिक विवादका बीच देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा समानान्तर महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। सोही महाधिवेशनलाई लक्षित गर्दै बस्नेतले महामन्त्री पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्।




