काठमाडौं । निर्वाचनमा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न विद्यमान मतदान प्रक्रिया र निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने निर्वाचन आयुक्त डा। राजीव सुब्बाले बताएका छन् । शुक्रबार ललितपुरमा निर्वाचन आयोगले चौथो पञ्चवर्षीय रणनीतिक योजनाका विषयमा सरोकारवालासँग आयोजना गरेको छलफलमा बोल्दै उनले परम्परागत निर्वाचन प्रक्रियालाई निरन्तरता दिनेभन्दा समय र प्रविधिअनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनका अनुसार अहिलेको निर्वाचन व्यवस्थाका कारण विदेशमा रहेका नेपाली तथा रोजगारी र अन्य कामका सिलसिलामा आफ्नो स्थायी जिल्लाभन्दा बाहिर पुगेका नागरिकले मतदान गर्न कठिनाइ भोगिरहेका छन् । मतदान नागरिकको नैसर्गिक अधिकार भएकाले योग्य सबै मतदाताले जुनसुकै स्थान र परिस्थितिमा पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
‘निर्वाचन अहिले जुन परम्परागत ढंगले चलिरहेको छ, त्यसरी नै चलिरहोस् भन्नुहुन्छ भने मेरो विमति छ । जे चलिरहेको छ, राम्रै छ, किन परिवर्तन गर्नुपर्यो भन्ने सोच अबको परिस्थितिमा उपयुक्त हुँदैन,’ सुब्बाले भने ।
उनले निर्वाचन प्रणाली, व्यवस्थापन र मतदान प्रक्रियाका सम्पूर्ण पक्षमा सुधार आवश्यक रहेको उल्लेख गरे ।
‘हाम्रा नागरिक विदेशमा होऊन् वा कामको सिलसिलामा एउटा जिल्लाबाट अर्को जिल्लामा पुगेका होऊन्, उनीहरूको मताधिकार सुरक्षित हुनुपर्छ । योग्य नागरिकले मतदान गर्न पाउनुपर्छ भन्ने मान्यताबाट हामी पछि हट्नु हुँदैन,’ उनले भने ।
अनलाइन मतदानसम्मको व्यवस्था गर्नुपर्ने प्रस्ताव
आयुक्त सुब्बाले आगामी निर्वाचनलाई थप सहज, समावेशी र प्रविधिमैत्री बनाउन अन्तरजिल्ला मतदान र विदेशबाट मतदान गर्न पाउने व्यवस्था विकास गर्नुपर्ने बताए ।
त्यसैगरी, प्रविधिको प्रयोगमार्फत अनलाइन मतदानको सम्भावनासमेत अघि बढाउनुपर्ने उनको प्रस्ताव छ । उनका अनुसार लोकतन्त्रलाई संस्थागत र बलियो बनाउने प्रमुख आधार नै नागरिकको मतदान सहभागिता हो । तर, भौगोलिक दूरी, रोजगारी र विदेश बसाइका कारण नागरिक मतदानबाट वञ्चित हुने अवस्था रहनु उचित होइन ।
निर्वाचन प्रक्रियालाई नागरिकमैत्री बनाउँदै योग्य मतदाताले सहज रूपमा मताधिकार प्रयोग गर्न सक्ने व्यवस्था मिलाउनु अहिलेको आवश्यकता भएको उनले बताए । सुब्बाको भनाइले आगामी निर्वाचनमा मतदानको परम्परागत शैली परिवर्तन, अन्तरजिल्ला मतदान, विदेशमा रहेका नेपालीको मताधिकार र अनलाइन भोटिङको विषयलाई नीतिगत बहसमा ल्याएको छ ।




