काठमाडौं । भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई खाना र खानेपानीसमेत उपलब्ध हुन छाडेपछि सरकारको आलोचना बढेको छ ।
कृषि विकास बैंकको तालिम केन्द्रमा बस्दै आएका विस्थापित परिवारलाई यसअघि खाना उपलब्ध गराउँदै आएको शान्ति सेवा गृह नामक गैरसरकारी संस्थाले शुक्रबार ९मंसिर ११० देखि सेवा बन्द गरेको हो ।
सरकारको दबाबका कारण संस्थाले खाना उपलब्ध गराउन रोकेको सुकुम्वासी परिवारको आरोप छ । होल्डिङ सेन्टर खाली गर्न प्रशासनले दिएको समयसीमा नजिकिँदै गर्दा आधारभूत सुविधासमेत बन्द भएपछि त्यहाँ आश्रित परिवार थप समस्यामा परेका छन् ।
खाना र खानेपानीको अभावमा बालबालिकासहितका परिवार भोकै बस्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । त्यहाँ आश्रय लिइरहेका दलमर्दन कामीले बालबालिकालाई विद्यालय जानसमेत रोकिएको बताएका छन् ।
“खाना, खानेपानी बन्द भयो । बालबालिकाहरू विद्यालय जानबाट समेत रोकिए,” कामीले भने, “सरकारका मान्छे कोही पनि आएका छैनन् । सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म हामी कतै जाँदैनौँ, यहीँ बस्छौँ ।”
यसअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार ९मंसिर ९० लिखित सूचना टाँस गर्दै मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो ।
तर, आश्रित परिवारको पुनर्स्थापनाका लागि वैकल्पिक आवासको व्यवस्था टुंगो नलाग्दै खाना र पानीसमेत बन्द भएपछि मानवीय संकटको अवस्था सिर्जना भएको छ ।
सुरक्षित आवासको सुनिश्चितताबिना विस्थापित परिवारलाई आश्रयस्थलबाट हटाउन खोजिएको र आधारभूत आवश्यकतासमेत रोकिएको विषयले सरकारको भूमिकामाथि प्रश्न उठेको छ । विशेषगरी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक प्रभावित हुने भएकाले तत्काल मानवीय व्यवस्थापन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।




