काठमाडौं । धनुषाको जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थीबाट उठाइएको शुल्कमा २० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको आशंकासहितको छानबिन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ ।
त्रिभुवन विश्वविद्यालयले गठन गरेको छानबिन समितिले क्याम्पसमा विद्यार्थी शुल्क हिनामिना भएको निष्कर्ष निकालेपछि थप अनुसन्धान र कारबाहीका लागि प्रतिवेदन अख्तियारलाई पठाएको हो ।
विश्वविद्यालयको दोस्रो छानबिन समितिले तयार पारेको प्रतिवेदनअनुसार ६ करोड २४ लाख रुपैयाँ प्रत्यक्ष अनियमितता भएको देखिएको छ भने करिब १४ करोड रुपैयाँ बराबरका शुल्क रसिद फेला परेका छैनन् । यसरी कुल २० करोडभन्दा बढी रकमको हिसाब स्पष्ट हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
त्रिविका एक अधिकारीका अनुसार विश्वविद्यालयले आफ्नै स्तरमा दुईपटक छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरेको थियो । पहिलो समितिको प्रतिवेदनप्रति चित्त नबुझेपछि दोस्रो समिति गठन गरिएको थियो । दोस्रो समितिले विस्तृत अध्ययन गरी आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको हो ।
छानबिनका क्रममा विद्यार्थीलाई उपलब्ध गराइने रसिद र क्याम्पसमा राखिने कार्यालय प्रतिमा फरक–फरक रकम उल्लेख गरिएको पाइएको छ । विद्यार्थीबाट बैंकमा रकम जम्मा गराउनुको सट्टा नगद असुली गर्ने र त्यसको हिसाबमा हेरफेर गर्ने गरिएको प्रतिवेदनमा औंल्याइएको छ ।
समितिको निष्कर्षअनुसार रसिदको पहिलो र दोस्रो प्रतिमा फरक रकम राखेर आफूखुसी रकम अपचलन गर्ने गरिएको थियो । लामो समयदेखि योजनाबद्ध रूपमा यस्तो गतिविधि भइरहेको र यसमा एकभन्दा बढी व्यक्ति तथा समूहको संलग्नता हुन सक्ने समितिको आशंका छ ।
क्याम्पसको आन्तरिक कार्यक्रमअन्तर्गत सञ्चालित बीए, बीबीए, बीआईटी, बीएस्सी र बीएससी सीएसआईटी लगायतका शैक्षिक कार्यक्रमको शुल्कमा अनियमितता भएको पाइएको छ ।
प्रतिवेदनले लेखा सहायक सञ्जय दासले काटेका रसिदमा रकम हिनामिनाको प्रमाण भेटिएको उल्लेख गरे पनि यति ठूलो रकमको अनियमितता एक व्यक्तिबाट मात्रै सम्भव नहुने निष्कर्ष निकालेको छ । त्रिविले गठन गरेको दोस्रो छानबिन टोली २०८३ वैशाख ६ गते राराब क्याम्पस पुगेको थियो । समितिले वैशाख ७ गतेदेखि अनुसन्धान सुरु गरेको थियो ।
सुरुमा वैशाख २६ गतेसम्मको समय पाएको समितिले तथ्यांक तथा प्रमाण संकलनमा समय लागेपछि म्याद थप गराएको थियो । करिब ७५ दिन लगाएर प्रतिवेदन तयार पारेको समितिले २०७७ साउन १ देखि २०८२ पुस मसान्तसम्मको आर्थिक कारोबार अध्ययन गरेको थियो ।
समितिले यस अवधिभन्दा अघिका वर्षमा समेत अनियमितता भएको हुन सक्ने भन्दै थप अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
अनियमिततासम्बन्धी प्रमाण नष्ट गर्ने उद्देश्यले २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा क्याम्पसको लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरिएको हुन सक्ने आशंका पनि प्रतिवेदनमा गरिएको छ । आगलागीमा ठूलो संख्यामा शुल्कका रसिद जलेर नष्ट भएकाले वास्तविक हिनामिनाको रकम यकिन गर्न कठिन भएको उल्लेख छ ।
यस प्रकरणमा तत्कालीन क्याम्पस प्रमुख, लेखा प्रमुख तथा लेखापरीक्षणमा संलग्न त्रिविको आन्तरिक र महालेखा परीक्षकको कार्यालयका टोलीसमेतको भूमिकामाथि प्रश्न उठाइएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। भोला थापाले विद्यार्थीको शुल्कमा अनियमितता गर्ने जोकोहीलाई कानुनअनुसार कारबाही गरिने बताएका छन् ।
उनका अनुसार छानबिन समितिले बुझाएको प्रतिवेदन विश्वविद्यालयले अध्ययन गरिरहेको छ । प्रतिवेदनका आधारमा दोषी देखिने व्यक्तिलाई त्रिविको नियम र प्रचलित कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ । थापाले राराब क्याम्पसमा मात्र नभई विश्वविद्यालयअन्तर्गतका अन्य निकायमा समेत आर्थिक अनियमितताको खोजी भइरहेको बताएका छन् ।
त्रिविमा सुशासन कायम गर्ने उद्देश्यले पुराना बेथिति र आर्थिक अनियमिततासम्बन्धी फाइल खोल्न थालिएको उल्लेख गर्दै उनले दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
त्रिविको नियमावलीमा आर्थिक अनियमितता गर्ने कर्मचारीलाई बर्खास्त गर्नेसम्मको व्यवस्था रहेको छ । अब अख्तियारले गर्ने थप अनुसन्धानबाट विद्यार्थीको शुल्क हिनामिनामा संलग्न व्यक्तिहरूको पहिचान र आर्थिक अनियमितताको वास्तविक परिमाण खुल्ने अपेक्षा गरिएको छ ।




