काठमाडौं । नेपाली कांग्रेसले सरकारका निर्णय र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, विधिको शासन र नागरिक अधिकारको रक्षाका लागि संसद् तथा सडक दुवै मोर्चाबाट खबरदारी गर्ने निर्णय गरेको छ ।
मंसिर ८ देखि ११ गतेसम्म बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले सरकारलाई आफ्नो कार्यशैली सुधार्न र संवैधानिक मर्यादाभित्र रहेर काम गर्न आग्रह गरेका हुन् ।
कांग्रेसले विभिन्न समुदाय तथा समूहसँग सरकारले गरेका सम्झौता कार्यान्वयनको अवस्था, गठन गरिएका समिति तथा आयोगका प्रतिवेदन सार्वजनिक नगरिनुको कारण र सय दिनभित्र सम्पन्न गर्ने घोषणा गरिएका कामको प्रगतिबारे जवाफ मागेको छ ।
भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित छानबिन, प्रतिबद्धता तथा निर्णय कार्यान्वयनको अवस्थाबारे पनि कांग्रेसले सरकारसँग स्पष्ट जवाफ खोजेको छ । सरकारका घोषणा र सम्झौता वास्तविक समस्या समाधानका लागि गरिएका हुन् वा तत्कालीन असन्तुष्टि मत्थर पार्ने उद्देश्यले मात्र ल्याइएका हुन् भन्ने प्रश्नसमेत बैठकले उठाएको पौडेलले बताए ।
उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र त्यसप्रति सरकारको धारणाबारे पनि प्रश्न गरेका छन् । दलित समुदायसँग माफी मागेर लोकप्रियता हासिल गर्न खोजिए पनि त्यसपछि समस्या समाधानका लागि ठोस काम नभएको कांग्रेसको टिप्पणी छ । त्यस्तै, नेवार समुदायसँग आवश्यक संवाद नगरी सरकारले गरेका निर्णयले थप असन्तुष्टि सिर्जना गरेको पौडेलको भनाइ छ ।
कांग्रेसले सरकारको असफलता नभई मुलुकको सफलता चाहेको उल्लेख गर्दै राम्रा काममा आफ्नो समर्थन रहने स्पष्ट पारेको छ । तर गलत निर्णय र कार्यशैलीप्रति पार्टी मौन नबस्ने उसको चेतावनी छ ।
‘हाम्रा लागि संविधान, लोकतन्त्र, राष्ट्रिय हित र नागरिकको अधिकार एवं जनजीविकाका सवाल सर्वोपरि छन्,’ पौडेलले भने ।
कांग्रेसको संयम र जिम्मेवार व्यवहारलाई सरकारको स्वेच्छाचारिताप्रतिको सहमति नठान्न पनि उनले सचेत गराए । सरकारलाई गलत निर्णय सच्याउन, संवैधानिक मर्यादामा फर्कन, विधिको शासन सुनिश्चित गर्न तथा अर्थतन्त्र र जनजीविकाका सवालमा गम्भीर बन्न कांग्रेसले आग्रह गरेको छ ।
बैठकले सरकारका कमजोरी र संवैधानिक व्यवस्था तथा लोकतन्त्रमाथि भएका प्रहारलाई संसद्मा सशक्त रूपमा उठाउन संसदीय दललाई निर्देशन दिएको छ । साथै, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिमार्फत सरकारका कामको निरन्तर निगरानी गर्ने निर्णय पनि गरेको छ ।
नागरिकका सरोकार र जनजीविकाका विषयलाई प्राथमिकतामा राखेर सरकारका कमीकमजोरी जनतामाझ लैजाने तथा सामाजिक सञ्जालमार्फत फैलाइने भ्रम चिर्ने कांग्रेसको तयारी छ । पार्टीले आफ्नो प्रतिपक्षी भूमिकालाई थप प्रभावकारी बनाउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि निरन्तर खबरदारी गर्ने जनाएको छ ।




