देश

कार्कीलाई हटाउने निर्णय गैरकानुनी भएको जिकिर, सरकारको कदमले दुई आईजीपीको अवस्था सिर्जना गर्‍यो

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारमा खटाउने सरकारको निर्णयले मुलुकमा दुईजना प्रहरी महानिरीक्षक हुने अवस्था सिर्जना गरेको कार्कीतर्फका कानुन व्यवसायीले जिकिर गरेका छन् ।

सर्वोच्च अदालतमा बुधबार भएको सुनुवाइका क्रममा कार्कीको पक्षमा बहस गर्दै कानुन व्यवसायीहरूले उनलाई आईजीपी पदबाट हटाएर सल्लाहकारको जिम्मेवारीमा पठाउने निर्णय कानुनी व्यवस्थाविपरीत रहेको दाबी गरेका हुन् । उनीहरूले सरकारको निर्णय प्रथम दृष्टिमै गैरकानुनी देखिएकाले तत्काल कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न मागसमेत गरेका छन् ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रहरी महानिरीक्षकको पद सरकारको इच्छाअनुसार जहाँसुकै खटाउन मिल्ने प्रकृतिको नभएको तर्क गरे ।

उनका अनुसार कानुनले आईजीपीको निश्चित कार्यकाल तोकेको अवस्थामा पदबाट हटाएको नभई अर्को जिम्मेवारीमा खटाएको भन्ने सरकारको तर्क स्वीकार गर्ने हो भने एकै समयमा दुईजना आईजीपी रहेको अवस्था उत्पन्न हुन्छ ।

‘प्रहरी महानिरीक्षक पदको निश्चित अवधि कानुनमै व्यवस्था गरिएको छ । सरकारले हटाएको होइन, खटाएको भनेको छ । त्यसो भए नेपालको कानुनले दुईजना आईजीपी हुने व्यवस्था गरेको मान्नुपर्ने हुन्छ, जुन कानुनले परिकल्पना नै गरेको छैन,’ उनले इजलासमा भने ।

उनले सर्वोच्च अदालतका यसअघिका नजिरसमेत उल्लेख गर्दै कानुनले निश्चित पदावधि तोकेको पदाधिकारीलाई कार्यकाल पूरा नहुँदै हटाउन नमिल्ने जिकिर गरे । पदबाट हटाउनैपर्ने अवस्था आए पनि त्यसका लागि स्पष्ट, वस्तुनिष्ठ र उचित कानुनी आधार तथा कारण खुलाउनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै, वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले कार्कीलाई जिम्मेवारीबाट हटाउँदा कानुनले तोकेको प्रक्रिया पूरा नगरिएको दाबी गरे । खराब आचरण, शान्ति सुरक्षा कायम गर्न असफलता वा राज्यलाई हानि पुग्ने गतिविधि गरेको अवस्थामा सुनुवाइको अवसर दिएर मात्रै सरकारले आईजीपीलाई हटाउन सक्ने उनको तर्क थियो ।

‘सरकारले प्रहरी ऐनमा जालसाजी गरेको छ । अर्को ठाउँमा खटाइएको भनिए पनि वास्तविकता बर्खास्ती नै हो,’ शाक्यले बहसका क्रममा भने ।

वरिष्ठ अधिवक्ता डा. दिनमणि पोखरेलले पनि कार्कीलाई पदबाट हटाउने निर्णय कुनै स्पष्ट कानुनी व्यवस्था र दफामा आधारित नभएको बताए । उनले सरकारको कदम स्वेच्छाचारी देखिएकाले न्यायिक हस्तक्षेप आवश्यक रहेको जिकिर गरे ।

कार्कीका पक्षबाट बहस गरेका अधिवक्ता माधवकुमार बस्नेतले प्रधानमन्त्रीको सल्लाहकारमा खटाइए पनि उनको साविकको आईजीपी पद यथावत् रहने अवस्था रहेको तर्क गरे । अर्को पद सिर्जना गरेर कार्कीलाई जिम्मेवारी दिनु नै सरकारको निर्णयको कानुनी कमजोरी भएको उनको भनाइ थियो ।

त्यसैगरी, अधिवक्ता टीकाबहादुर कुँवरले कार्यकाल अझै १८ महिना बाँकी रहेका बेला कार्कीलाई पदबाट हटाइनु प्रतिशोधपूर्ण र नियोजित निर्णय भएको दाबी गरे ।

उनले हितेन्द्रदेव शाक्यसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले स्थापित गरेको नजिरसमेत इजलाससमक्ष प्रस्तुत गरे । उक्त नजिरले निश्चित अवधिका लागि नियुक्त पदाधिकारीलाई कानुनी प्रक्रिया र सहमतिबिना हटाउन वा अर्को निकायमा सरुवा गर्न नमिल्ने सिद्धान्त स्थापित गरेको उनको जिकिर थियो ।

कुँवरले प्रहरी महानिरीक्षक आफैँमा सुरक्षा सल्लाहकारको भूमिकासमेत निर्वाह गर्ने पद भएकाले सोही व्यक्तिलाई पुनः प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्नुको औचित्य पुष्टि हुन नसक्ने तर्क गरे ।

कार्की पक्षका कानुन व्यवसायीहरूले सरकारको निर्णयले प्रहरी संगठनको नेतृत्व, कानुनी व्यवस्था र पदाधिकारीको कार्यकालसम्बन्धी स्थापित मान्यतामाथि प्रश्न उठाएको भन्दै सर्वोच्चबाट निर्णय सच्याउन माग गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *