काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्न समयानुकूल नयाँ कानुन ल्याउन लागिएको बताएका छन् ।
सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले चलचित्रलाई मनोरञ्जनको साधनका रूपमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा प्रर्वद्धन, सूचना प्रवाह, सिर्जनशीलता र आर्थिक विकासमा योगदान पुर्याउने उद्योगका रूपमा विकास गर्नेगरी विधेयक तयार पारिएको बताए ।
तिमिल्सिनाले प्रस्तावित विधेयकमा चलचित्र क्षेत्रको वर्तमान आवश्यकता र भविष्यको सम्भावनालाई समेटेको उल्लेख गरे । उनले चलचित्रको ‘सेन्सर’ र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै यससम्बन्धी कानुनी व्यवस्था अन्तरराष्ट्रिय अभ्यासअनुसार परिमार्जन गर्नुपर्ने बताए ।
चलचित्र ‘सेन्सर’ र वर्गीकरणलाई स्पष्ट पारिनुपर्ने गरी विधेयकमाथि आएका संशोधन प्रस्तावमाथि पनि समितिले आवश्यक छलफलमार्फत् टुङ्गोमा पुर्याउने विश्वास पनि सञ्चारमन्त्री तिमिल्सिनाले व्यक्त गरे । कुन विषयमा ‘सेन्सर’ आवश्यक हुन्छ र कुन विषयलाई वर्गीकरणमार्फत व्यवस्थापन गर्न सकिन्छ भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ थियो ।
सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि चलचित्र विकास बोर्डको उद्देश्य, भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था पनि कानुनबाटै स्पष्ट हुनुपर्ने बताए । बोर्डलाई प्रभावकारी रूपमा काम गर्न सक्ने गरी संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै आवश्यक स्वायत्तता र अधिकार प्रदान गर्ने व्यवस्था कानुनमा समेटिनुपर्ने उनको धारणा थियो ।




