संखुवासभा । तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्ने भएका छन् । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत पङ्कज चौधरीका अनुसार शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्नेछन् । त्यसको प्रत्यक्ष प्रसारण आयोजनास्थलमा गरिने कम्पनीले जनाएको छ ।
६६९ मेगावाट क्षमताको आयोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुनेछ । प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली प्रस्थान गरेका छन् ।
आयोजनाबाट प्रभावित स्थानीयलाई हालसम्म ९९ करोड ९८ लाख ३९ हजार रुपैयाँ मुआब्जा वितरण भइसकेको छ । करिब २५३ परिवारले उक्त रकम पाएका छन् । प्रभावित क्षेत्रमा जग्गाको मूल्याङ्कन प्रतिरोपनी पाँच लाखदेखि ३४ लाख रुपैयाँसम्म गरिएको छ । आयोजनास्थलमा पर्ने ६५६ जनाले मुआब्जा पाउनेछन् । आयोजनाले कुल एक अर्ब ४० करोड रुपैयाँ मुआब्जा वितरण गर्नेछ। आयोजनाबाट २६८ घरपरिवार प्रत्यक्ष प्रभावित हुनेछन् ।
भारतीय कम्पनी सतलज विद्युत् निगमले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाबाट विद्युत् उत्पादनपछि जम्मा हुने पानी खाँदबारी नगरपालिका–२ चेवाबेसीबाट करिब १७ दशमलव तीन किलोमिटर सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा लगिनेछ ।
आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ । लगानी बोर्ड नेपाल र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौताअनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा आयोजना निर्माण हुनेछ ।
आयोजना निर्माण अवधि पाँच वर्ष तोकिएको छ । व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामा नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिनेछ । आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ ।
२०८० जेठ १८ गते लगानी बोर्ड नेपाल र एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच परियोजना विकास सम्झौतामा हस्ताक्षर भएको थियो । आयोजना निर्माणले संखुवासभासहित कोशी प्रदेशको ऊर्जा विकास, पूर्वाधार विस्तार र आर्थिक गतिविधिमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।




