देश

अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयकमाथिको दफावार छलफल सर्वसम्मतिले पारित

काठमाडौँ। अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३ माथिको दफावार छलफल सम्पन्न भएको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले विधेयकमाथि आवश्यक संशोधनसहित सर्वसम्मत रूपमा पारित गरेको हो।

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले आज बसेको समितिको बैठकमा विधेयकका विभिन्न दफामाथि विस्तृत छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको जानकारी दिए।

उहाँका अनुसार विधेयकमा राजस्व प्रशासनको आधुनिकीकरण, कर तथा भन्सार प्रणालीमा सुधार, राजस्व चुहावट नियन्त्रण, गैरकर राजस्व व्यवस्थापन, आर्थिक गतिविधिमा सहजीकरण तथा समयसापेक्ष नरहेका कानुनी व्यवस्था खारेज गर्ने प्रावधान समेटिएका छन्।

विधेयकले राजस्व प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको छ।

समितिले विधेयकमाथिको दफावार छलफल सम्पन्न गरी संशोधनसहित पारित गरेपछि त्यससम्बन्धी प्रतिवेदन तयार गरी आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशनसमेत दिएको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायतको सहभागिता रहेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *