काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।
पहिलोपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको पहिचान र सम्भावना उजागर गर्ने महत्त्वपूर्ण अवसर भएको प्रधानमन्त्री शाहको भनाइ छ ।
उनका अनुसार प्रतियोगितामा राष्ट्रियस्तरका ८ हजारभन्दा बढी खेलाडी, खेल अधिकारी तथा पदाधिकारी सहभागी हुनेछन् । उनीहरूले कर्णालीका विभिन्न जिल्लामा प्रतिस्पर्धा गर्ने भएकाले खेलकुदसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक महत्त्व र आर्थिक सम्भावनाको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहले प्रतियोगिताले नयाँ प्रतिभावान् खेलाडीको पहिचान गर्न, खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्न तथा खेल पूर्वाधारको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले प्रतियोगितालाई सफल बनाउन आम नागरिकलाई समेत साथ र समर्थनका लागि आग्रह गरेका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि सुरु हुनेछन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ ।
हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका हालसम्म नौवटा संस्करण मात्रै आयोजना हुनुलाई प्रधानमन्त्री शाहले दुःखद पक्षका रूपमा लिएका छन् ।
उनले आगामी दिनमा राष्ट्रिय खेलकुद प्रतियोगितालाई नियमित रूपमा आयोजना गर्ने र यसको स्तर अभिवृद्धि गर्ने विषयमा सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।




