काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै राजनीतिक दललाई समेटेर सहमतिको सरकार गठन गर्ने बताएका छन् ।
आइतबार मुख्यमन्त्री पदको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने जानकारी दिएका हुन् ।
उनले यसअघि पहिलोपटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको स्मरण गर्दै यसपटक पनि सबै दलको विश्वास लिएर सरकार सञ्चालन गर्ने आफ्नो प्रयास रहने बताए ।
‘हामी भोलिदेखि सबै दलसँग छलफल गर्छौँ । मेरो पहिलो प्राथमिकता सबै दललाई मिलाएर सरकार अघि बढाउनु हो । पहिलोपटक विश्वासको मत लिँदा सबै दलको समर्थन पाएको थिएँ । यसपटक पनि त्यस्तै वातावरण बनाएर अघि बढ्नेछु,’ उनले भने ।
यादवले मन्त्रिपरिषद् विस्तार गर्नुअघि राजनीतिक दलहरूसँग छलफल गरेर सहमतिमा पुग्ने स्पष्ट पारे । प्रदेश सरकारको कामकारबाही पछिल्लो समय सुस्त भएको उल्लेख गर्दै उनले अब विकास निर्माण र अन्य सरकारी कामलाई तीव्रता दिने बताए ।
भ्रष्टाचार नियन्त्रण र सबै राजनीतिक दललाई समेटेर सरकार सञ्चालन गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।
‘अब समय थोरै छ । प्रदेशको काम पहिलेभन्दा सुस्त भइरहेको थियो । त्यसलाई गति दिने, भ्रष्टाचार नियन्त्रण गर्ने र सबै दललाई मिलाएर सहमतिको सरकार गठन गरी राम्रो काम गर्ने मेरो उद्देश्य हो,’ उनले भने ।
यादव शनिबार मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।




