देश

नेपाल–चीन सहकार्य विस्तार गर्न रास्वपाले अघि सार्‍यो पाँच क्षेत्रको प्रस्ताव

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चीनको सिचुवान प्रान्तसँग पाँच प्रमुख क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरेको छ । सीमापार यातायात, पर्वतीय विज्ञान, स्वच्छ ऊर्जा, हवाई सम्पर्क र डिजिटल प्रविधिलाई प्राथमिकतामा राख्दै रास्वपाले सहकार्यको प्रस्ताव अघि सारेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकंग्रेस स्थायी समितिका अध्यक्ष वाङ स्याओहुई र रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको नेपाली प्रतिनिधिमण्डलबीच मंगलबार चीनको चेङ्दुमा भएको भेटवार्तामा उक्त प्रस्ताव राखिएको हो ।

भेटका क्रममा नेपाली पक्षले सुरक्षित सीमापार सडक तथा भन्सार प्रणाली विकास, मौसम पूर्वानुमान र विपद् पूर्वसूचना प्रणाली, जलविद्युत् तथा हरित उद्योग, चेङ्दुबाट नेपालका प्रमुख सहरमा थप हवाई उडान र कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल प्रविधिमा सहकार्य गर्न प्रस्ताव गरेको थियो ।

त्यसैगरी, नेपालका जडीबुटी, चिया, फलफूल तथा हस्तकलाका उत्पादनलाई चिनियाँ बजारमा पहुँच विस्तार गर्न प्रशोधन, भण्डारण र गुणस्तर सुधारमा सहयोग गर्न पनि आग्रह गरिएको थियो ।

भेटमा सिचुवानका सचिव वाङले नेपाल–चीनबीचको उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउन तथा दुई पक्षबीच राजनीतिक र सरकारी सम्बन्ध थप सुदृढ बनाउन प्रतिबद्धता जनाएका थिए । उनले दुई देशबीच भएका समझदारी कार्यान्वयनमा सिचुवानले योगदान गर्ने बताए ।

रास्वपा महामन्त्री आचार्यले सिचुवानको आर्थिक तथा सामाजिक विकासको प्रशंसा गर्दै नेपालको पूर्वाधार र आर्थिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

नेपाली प्रतिनिधिमण्डलले गत अगस्टमा सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरो तथा भोटेकोशी विपद्का बेला चीनले गरेको सहयोग र ऐक्यबद्धताको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएको थियो ।

भेटमा रास्वपाले एक चीन सिद्धान्तप्रतिको नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि चीनको सार्वभौमसत्ता र सुरक्षाविरुद्ध प्रयोग हुन नदिने धारणा राखेको थियो । साथै राजनीतिक स्थिरता र स्पष्ट कार्यान्वयन योजनामार्फत नेपाल–चीन सहकार्यलाई व्यावहारिक नतिजामा पुर्‍याउनुपर्नेमा जोड दिएको थियो ।

नेपाली प्रतिनिधिमण्डलले प्रस्तावित सहकार्यलाई समयबद्ध कार्ययोजनामा रूपान्तरण गर्न आग्रह गर्दै सिचुवानका सचिव वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको थियो ।

भेटमा सिचुवानका अन्य प्रान्तीय नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *