काठमाडौं । झारफुक गरेर बिरामी निको पार्ने भन्दै १४ वर्षीया किशोरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले जुम्लाबाट एक झाँक्रीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ निवासी ४६ वर्षीय कालीबहादुर रोकाया रहेका छन्। सामाजिक सञ्जालमा उनको भनिएको दुर्व्यवहारसम्बन्धी भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार रोकायाले सोही स्थानकी १४ वर्षीया किशोरीलाई झारफुकमार्फत निको पारिदिने भन्दै अभद्र व्यवहार गरेको आरोप छ। घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चर्चा पाएको थियो।
पक्राउ परेका रोकायालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याइएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति, आरोपको सत्यता र अन्य सम्बन्धित पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




