देश

दुर्गमसहित सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक परिचालन, स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा

काठमाडौं । विशेषज्ञ स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पुर्‍याउने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ ।

विशेषज्ञ उपचारका लागि काठमाडौं तथा ठूला सहर धाउनुपर्ने बाध्यता कम गर्ने लक्ष्यसहित सरकारले चिकित्सक परिचालन गरेको हो । यसबाट प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा विस्तार हुने अपेक्षा गरिएको छ ।

मन्त्रालयको विवरणअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २०८ जना विशेषज्ञ चिकित्सक खटिएका छन् । त्यसैगरी कोशी प्रदेशमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेसमा ८६, सुदूरपश्चिममा ७६ र कर्णाली प्रदेशमा ५२ जना चिकित्सक परिचालन गरिएको छ ।

कुल चिकित्सकमध्ये ५११ जनालाई प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत र ३२७ जनालाई सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटाइएको मन्त्रालयले जनाएको छ ।

सङ्घीय सरकारबाट प्रदेशमा पठाइएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा समेत परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ । यसले स्थानीयस्तरमै विशेषज्ञ उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

चिकित्सक परिचालनसँगै एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक उपचार, आँखा, बालरोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवामा सुधार आउने अपेक्षा गरिएको छ ।

विशेषगरी सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारका लागि आवश्यक विशेषज्ञ जनशक्ति उपलब्ध हुँदा स्वास्थ्य संस्थाको सेवा क्षमता बढ्ने र सामान्य उपचारका लागि समेत राजधानी पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न मद्दत पुग्ने सरकारको विश्वास छ ।

विशेषज्ञ चिकित्सकको उपलब्धतालाई प्रदेश र स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्न सके स्वास्थ्य सेवामा रहेको भौगोलिक असमानता घटाउनुका साथै सर्वसाधारणको उपचार खर्च र समयसमेत बचत हुने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *