काठमाडौं । सप्तकोशी नदीमा गत कात्तिक ८ गते भएको पानीबोट दुर्घटनाको सरकारी छानबिन प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनले क्षमताभन्दा बढी यात्रु राख्नु, बीच नदीमा इन्जिन बन्द हुनु र आवश्यक कानुनी अनुमति तथा सुरक्षा मापदण्डबिनै पानीबोट सञ्चालन गर्नु दुर्घटनाका प्रमुख कारण रहेको निष्कर्ष निकालेको छ ।
कोशी प्रदेश सरकारले गठन गरेको १२ सदस्यीय छानबिन तथा अध्ययन समितिले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाउँदै सप्तकोशीमा सञ्चालन भइरहेका अनुमतिविहीन पानीबोटबाट तत्काल यात्रु ओसारपसार रोक्न सिफारिस गरेको हो ।
प्रदेश सचिव आशमान तामाङको संयोजकत्वमा कात्तिक १० गते गठन भएको समितिले घटनास्थलको निरीक्षण, पीडित, उद्धारकर्ता, व्यवसायी तथा सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गरेर प्रतिवेदन तयार पारेको हो ।
प्रतिवेदनअनुसार दुर्घटनाग्रस्त पानीबोटमा चालकसहित १५ जना सवार थिए । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन् । अन्य आठ जनाको सकुशल उद्धार गरिएको थियो ।
गत कात्तिक ८ गते दिउँसो करिब २ बजे भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरातर्फ आउँदै गरेको बराह त्रिवेणी जल यातायात प्रालिको पानीबोट धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सुनसरीको बराहक्षेत्र–१ की ५२ वर्षीया लीला राई, उदयपुरको बेलका–९ का ५५ वर्षीय रत्नबहादुर नेपाली र भोजपुरको हतुवागढी–७ की पाँच वर्षीया आर्या राईको मृत्यु भएको थियो ।
त्यस्तै, झापाको कनकाई–४ का सात वर्षीय सुयोग मगर र २१ वर्षीया प्रमिला मगर तथा सुनसरीको बराहक्षेत्र–१ की २३ वर्षीया मनिका राई अझै बेपत्ता छन् । दुर्घटनामा संलग्न २४ वर्षीय चालक सुमन मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
समितिले दुर्घटनाग्रस्त बोटमा जडित यामाहा एफ ७५ एचपी इन्जिन र डुङ्गाको संयुक्त भारवहन क्षमता करिब ४५० देखि ६८० किलोग्राम रहेको प्रारम्भिक अध्ययनबाट देखिएको जनाएको छ ।
तर, बच्चासहित १५ जना सवार हुँदा भार क्षमताभन्दा बढी भएको र त्यसले बोटको सन्तुलन बिगारेको प्रतिवेदनमा उल्लेख छ । तीव्र बहाव भएको नदीमा चलिरहेको बोटको इन्जिन अचानक बन्द भएपछि बोट अनियन्त्रित भई पानी पसेर डुबेको समितिको निष्कर्ष छ ।
दुर्घटनाग्रस्त बोट नदीमै डुबेर बेपत्ता भएकाले इन्जिनको प्राविधिक परीक्षण गर्न नसकिएको पनि प्रतिवेदनमा स्पष्ट पारिएको छ । छानबिनका क्रममा पानीबोटमा यात्रुको सुरक्षाका लागि आवश्यक व्यवस्था नगरिएको पाइएको छ । विशेषगरी बालबालिकाका लागि लाइफ ज्याकेटको व्यवस्था थिएन भने चालकसँग आवश्यक अनुमतिपत्र र पर्याप्त तालिमसमेत नभएको समितिले औंल्याएको छ ।
बोटको नियमित प्राविधिक परीक्षण नगरिएको र तीव्र बहाव भएको सप्तकोशीमा सञ्चालन भइरहेका पानीबोट जलयात्राका लागि उपयुक्त छन् वा छैनन् भन्ने विषयमा समेत कुनै निकायले विस्तृत अध्ययन नगरेको प्रतिवेदनमा उल्लेख छ । दुर्घटनाबाट जोगिएकी झापाको कनकाई–४ की २९ वर्षीया तीर्थकुमारी मगरले समितिसमक्ष दिएको बयानले घटनाको भयावह अवस्था देखाएको छ ।
उनका अनुसार माईबेनीस्थित सप्तकोशीमा बोटको इन्जिन अचानक बन्द भएको थियो । चालकले इन्जिन पुनः सञ्चालन गर्ने प्रयास गर्दागर्दै बोटभित्र पानी भरिएर डुब्न थालेको थियो ।
‘हामी ठूलाले लाइफ ज्याकेट लगाएका थियौँ, तर मेरो सात वर्षको छोरासँग लाइफ ज्याकेट थिएन,’ उनले बयानमा भनेकी छन्, ‘पानीमा डुबेलगत्तै मेरो हातबाट बच्चा छुट्यो, आजसम्म भेटिएको छैन ।’ उनले बेपत्ता छोराको खोजीलाई तीव्रता दिन, घटनामा दोषी देखिएकालाई कारबाही गर्न र उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेकी छन् । समितिको अनुसन्धानले सप्तकोशीमा सञ्चालित जलयातायात सेवामा कानुनी नियमनको गम्भीर अभाव रहेको देखाएको छ ।
दुर्घटनामा परेको बराह त्रिवेणी जल यातायात प्रालि २०८० मंसिर ११ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको भए पनि जलयात्रा नियमावली, २०६३ अनुसार सम्बन्धित निकाय र बराहक्षेत्र नगरपालिकाबाट सञ्चालन अनुमति लिएको थिएन । प्रतिवेदनअनुसार सप्तकोशीको चतरादेखि भोजपुरको सिम्लेसम्म करिब १० किलोमिटर र दक्षिणतर्फ बोराबाँध क्षेत्रमा करिब पाँच किलोमिटर दूरीमा २० वटाभन्दा बढी मोटरबोट सञ्चालनमा छन् ।
तर, बराहक्षेत्र नगरपालिकाको अभिलेखमा आर्थिक वर्ष २०८२/८३ मा जम्मा ६ वटा कम्पनी मात्र व्यवसायका रूपमा दर्ता भएको देखिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी अर्यालले पनि स्पष्ट कानुनी व्यवस्था र प्रभावकारी अनुगमन नहुँदा व्यवसायीले आफूखुसी पानीबोट सञ्चालन गरिरहेको जानकारी समितिलाई दिएका थिए । समितिले सप्तकोशीमा सञ्चालन भइरहेका सबै जलयातायात संस्थालाई जलयात्रा नियमावली, २०६३ अनुसार तीन महिनाभित्र सञ्चालन अनुमति लिन निर्देशन दिन सिफारिस गरेको छ । अनुमतिपत्र प्राप्त नगरेसम्म त्यस्ता पानीबोटबाट यात्रु ओसारपसार गर्न रोक लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, सञ्चालनमा रहेका सबै बोटको दर्ता, बीमा, चालकको योग्यता तथा प्राविधिक अवस्था तत्काल परीक्षण गर्नुपर्ने सुझाव दिइएको छ । हालको पर्यटन ऐन, २०३५ र जलयात्रा नियमावली, २०६३ ले मुख्यतः मनोरञ्जन तथा पर्यटकीय प्रयोजनका लागि गरिने र्याफ्टिङलाई समेटे पनि सर्वसाधारणलाई शुल्क लिएर नियमित रूपमा यात्रु ओसारपसार गर्ने जलसेवाका लागि स्पष्ट कानुनी व्यवस्था नभएको समितिको ठहर छ ।
यस समस्याको समाधानका लागि संघीय मापदण्डसहितको एकीकृत छाता कानुन निर्माण गर्न प्रदेश सरकारले संघीय विषयगत समितिमा प्रस्ताव पेस गर्नुपर्ने सुझावसमेत दिइएको छ । जलयातायातसम्बन्धी कानुनी व्यवस्थाको अभावमा यात्रु बीमालगायतका प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको समितिले औंल्याएको छ ।
त्यसैले दुर्घटनामा मृत्यु भएका तथा बेपत्ता व्यक्तिका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन कोशी प्रदेश मन्त्रिपरिषद्ले आवश्यक निर्णय गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
लापरबाहीपूर्वक पानीबोट सञ्चालन गर्दा ज्यान गएको अवस्थामा मुलुकी अपराध संहिता, २०७४ को दफा १८२ र १८३ अनुसार फौजदारी कारबाही हुन सक्ने समितिले स्पष्ट पारेको छ । प्रतिवेदनले धनकुटा प्रहरीले गरिरहेको अनुसन्धानलाई कुनै असर नगर्ने पनि जनाएको छ ।
वि.सं. २०७५ असोजदेखि सप्तकोशीमा व्यावसायिक रूपमा जेटबोट तथा मोटरबोट सेवा सुरु भएपछि भोजपुर, धनकुटा र उदयपुरका दुर्गम क्षेत्रका बासिन्दालाई तराई आवतजावत गर्न सहज भएको थियो । तर, पर्याप्त सुरक्षा व्यवस्था, कानुनी नियमन र नियमित अनुगमन नहुँदा सहज यातायातको माध्यम बनेको जलयात्रा पछिल्लो समय जोखिमपूर्ण बन्दै गएको सरकारी छानबिन समितिको निष्कर्ष छ ।




