काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले बुधबार सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा भने अदालतले दुवै पक्षबीच छलफल गराउने निर्णय गरेको छ ।
अन्तरिम आदेशसम्बन्धी छलफलका लागि अदालतले आगामी मङ्सिर १४ गते दुवै पक्षलाई उपस्थित हुन भनेको छ । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले आनी छोइङलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सफलता बोगटी, बिरजन विश्वकर्मा र सुनिलबहादुर सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिट निवेदकहरूले नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेको व्यक्तिलाई नियुक्ति गरिएको तथा नियुक्तिका क्रममा निर्धारित कार्यविधि र मापदण्ड पालना नगरिएको दाबी गरेका छन् । उनीहरूले सरकारको निर्णय प्रथम दृष्टिमै गैरकानुनी रहेको जिकिर गर्दै नियुक्ति बदर गर्न माग गरेका छन् ।
अब मङ्सिर १४ गते हुने दुवै पक्षबीचको छलफलपछि आनी छोइङको नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा अदालतले निर्णय गर्नेछ ।




