जनकपुरधाम। भगवान् रामको जन्मस्थल भारतको अयोध्या र माता सीताको जन्मस्थल नेपालको जनकपुरधाम रेलमार्गबाट जोडिने भएपछि मिथिलाञ्चल क्षेत्रमा उत्साह बढेको छ । दुई धार्मिक नगरीबीच सिधा रेल सेवा सञ्चालन हुने भएपछि धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक सम्बन्ध विस्तार र स्थानीय अर्थतन्त्रमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मङ्सिर ७ गते नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको उत्तर रेल्वे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयले जारी गरेको निमन्त्रणामा उल्लेख छ ।
भारतको प्रेस इन्फर्मेसन ब्युरो (पिआईबी), दिल्लीले जारी गरेको सूचनाअनुसार भारतीय रेल्वेले जनकपुरधाम र उत्तर प्रदेशको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।
उनका अनुसार करिब ६०४ किलोमिटर दूरी पार गर्ने रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर हुँदै जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ । रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ ।
निर्धारित समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ । त्यसैगरी रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मङ्गलबार दिउँसो १२ः४० बजे जनकपुरधाम आइपुग्नेछ ।
रेलका जयनगर, मधुवनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन् । ती स्थानबाट यात्रु चढ्न र ओर्लन सक्ने व्यवस्था गरिएको छ ।
उत्तर रेल्वे, लखनउ मण्डल रेल प्रबन्धक कार्यालयको निमन्त्रणाअनुसार अयोध्या रेल्वे स्टेसनमा विशेष कार्यक्रम आयोजना गरी नयाँ वन्दे भारत एक्सप्रेसलाई हरियो झण्डा देखाएर सेवा शुभारम्भ गरिनेछ । कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भिडियो कन्फरेन्समार्फत सहभागिता जनाउने कार्यक्रम रहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए ।
धार्मिक पर्यटन र व्यापार विस्तारको अपेक्षा
होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले जनकपुरधाम र अयोध्याबीच रेल सम्पर्क स्थापना हुनु नेपाल–भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने महत्त्वपूर्ण कदम भएको बताए ।
रामनगरीका रूपमा परिचित अयोध्यालाई माता सीतासँग सम्बन्धित जनकपुरधामसँग जोड्दा रामायण सर्किटको प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ । रेल सेवाबाट दुवै देशका तीर्थयात्री, पर्यटक तथा व्यवसायी लाभान्वित हुने र धार्मिक पर्यटनसँगै व्यावसायिक गतिविधि विस्तार हुने उनले बताए ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले रेल सेवा सञ्चालनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए । उनका अनुसार होटल, रेस्टुराँ, यातायात, हस्तकला, धार्मिक सामग्रीको व्यापार तथा पर्यटन व्यवसायमा नयाँ अवसर सिर्जना हुनुका साथै रोजगारीसमेत बढ्ने सम्भावना छ ।
अयोध्यामा राममन्दिर निर्माणपछि धार्मिक पर्यटकको आकर्षण बढिरहेको अवस्थामा जनकपुरधामलाई रेलमार्गबाट जोड्न सके भारतीय तीर्थयात्रीका लागि नेपाल भ्रमणको महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।
‘जनकपुरधाम आउने नेपाली तथा भारतीय भक्तजनले अयोध्यासम्मको धार्मिक यात्रा सहज रूपमा गर्न पाउनेछन् । यसबाट जनकपुरधाममा पर्यटकको बसाइ अवधि लम्ब्याउन र आर्थिक गतिविधि थप चलायमान बनाउन सकिन्छ,’ अध्यक्ष भण्डारीले भने ।
उनले त्यसका लागि जानकी मन्दिरबाहेक रामायणसँग सम्बन्धित अन्य धार्मिक तथा सांस्कृतिक स्थलको पहिचान, संरक्षण र प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । स्तरीय होटल, यातायात सेवा र पर्यटकमैत्री पूर्वाधार विकास गर्न सके रेल सेवाबाट प्राप्त अवसरलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सकिने उनको धारणा छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका युवा व्यवसायी जीवछ महाशेठले रेल सेवा सञ्चालनपछि अयोध्यास्थित राममन्दिरलगायत धार्मिकस्थलको भ्रमण सहज हुने बताए ।
‘यहाँका अधिकांश मानिसले अयोध्या भ्रमण गर्ने अवसर पाउनेछन् । अहिलेसम्म धेरैले अयोध्याको नाम सुने पनि त्यहाँ पुग्न सकेका छैनन् । सिधा रेल सेवा सुरु भएपछि आवतजावत सहज हुनेछ,’ उनले भने ।
क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले पनि अयोध्या जाने सिधा रेल सेवा सञ्चालन हुने जानकारीले आफूहरू उत्साहित भएको बताए । यसअघि विभिन्न यातायातका साधन प्रयोग गरेर लामो समय खर्चिनुपर्ने अवस्था रहेकामा रेल सेवा सुरु भएपछि यात्रा सहज हुने उनको भनाइ छ ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ धनुषाका अध्यक्ष रूपेश सिंहले रेल सेवाले भारतका विभिन्न प्रान्तबाट अयोध्या आउने पर्यटकलाई जनकपुरधाम भ्रमण गर्न सहज बनाउने विश्वास व्यक्त गरे ।
मिथिलाको संस्कृति अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसर
जनकपुरधाम र अयोध्याबीच प्राचीनकालदेखि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । त्रेतायुगमा भगवान् राम र माता सीताको वैवाहिक सम्बन्धसँग जोडिएका यी दुई धार्मिक नगरी रेलमार्गबाट जोडिँदा धार्मिक आस्थासँगै सांस्कृतिक आदानप्रदान पनि बढ्ने अपेक्षा गरिएको छ ।
रेल सेवाले मिथिलाको कला, संस्कृति, परम्परा, खानपान र स्थानीय उत्पादनको प्रचारप्रसारमा समेत सहयोग पुर्याउन सक्नेछ । धार्मिक यात्राका लागि आउने पर्यटकलाई जानकी मन्दिर र राममन्दिर दर्शनमा मात्र सीमित नराखी मिथिलाको सांस्कृतिक जीवन, ऐतिहासिक स्थल र स्थानीय उत्पादनसँग परिचित गराउन सके स्थानीय व्यवसायले थप लाभ लिन सक्ने पर्यटन व्यवसायीहरूको धारणा छ ।
जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी, रामनवमी तथा जानकी नवमीजस्ता धार्मिक उत्सवलाई अन्तर्राष्ट्रिय पर्यटनसँग जोड्न पनि रेल सेवाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहले बताए ।
उनका अनुसार नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक सहकार्यसँग जोड्ने यो पहलले मधेस प्रदेशको पर्यटन विकास, स्थानीय रोजगारी सिर्जना र व्यापार व्यवसाय विस्तारमा योगदान पुर्याउन सक्छ ।
रेल सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन हुनुका साथै जनकपुरधाममा पर्यटकमैत्री पूर्वाधार विकास गर्न सके यसले धार्मिक पर्यटनसँगै समग्र मिथिलाञ्चलको आर्थिक गतिविधिमा नयाँ गति दिने अपेक्षा गरिएको छ ।




