देश

बालश्रम अन्त्य गर्न कानुनसँगै परिवारको आर्थिक अवस्था सुधार्न सांसदहरूको जोड

काठमाडौँ । बालश्रम नियन्त्रणका लागि कानुनी निषेध र दण्डात्मक व्यवस्था मात्र पर्याप्त नहुने भन्दै सांसदहरूले बालबालिकाको उमेर, संवैधानिक अधिकार र परिवारको आर्थिक अवस्थालाई समेत ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले बालश्रमका कानुनी तथा सामाजिक–आर्थिक पक्षलाई एकसाथ सम्बोधन गर्नुपर्ने धारणा राखेका हुन् ।

छलफलमा सांसद कृपाराम रानाले प्रस्तावित विधेयक संविधानले सुनिश्चित गरेका बालबालिकाका मौलिक हक र अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुकूल हुनुपर्ने बताए । उनका अनुसार बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, स्याहार, खेलकुद, मनोरञ्जन र सर्वाङ्गीण विकासको अधिकारलाई कुनै पनि कानुनी व्यवस्थाले प्रभावित पार्नु हुँदैन ।

संविधानको धारा ३९ ले बालबालिकाको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले विधेयकका प्रावधान संविधानसँग बाझिने अवस्था छ कि छैन भन्ने विषयमा सुरुमा नै गम्भीर समीक्षा आवश्यक रहेको बताए ।

विशेषगरी कलकारखाना, खानी तथा जोखिमपूर्ण काममा बालबालिकालाई लगाउन नपाइने संवैधानिक व्यवस्थालाई विधेयकले स्पष्ट रूपमा समेट्नुपर्ने उनको भनाइ थियो । विधेयकको अनुसूचीमा उल्लेख गरिएका श्रमका प्रकृति र जोखिमबारे पनि सूक्ष्म अध्ययन गर्नुपर्ने उनले बताए ।

सरकारले प्रस्ताव गरेको विधेयकमा १३ वर्ष उमेर पूरा भएका बालबालिकालाई निश्चित सर्तमा हलुका काममा लगाउन सकिने व्यवस्था छ । यही प्रावधानमाथि प्रश्न उठाउँदै रानाले अन्तर्राष्ट्रिय श्रम संगठन ९आईएलओ० को महासन्धि १३८ ले न्यूनतम श्रम उमेर १५ वर्ष निर्धारण गरेको विषयलाई समेत ध्यान दिनुपर्ने बताए ।

यद्यपि, बालबालिकाको उमेर निर्धारण गर्दा नेपालको सामाजिक, आर्थिक, भौगोलिक अवस्था र पोषणको स्थितिलाई पनि बेवास्ता गर्न नहुने उनको तर्क थियो । विकसित र विकासोन्मुख मुलुकका बालबालिकाको वृद्धि तथा परिपक्वताको अवस्था फरक हुन सक्ने भएकाले अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्रिय परिस्थितिबीच सन्तुलन आवश्यक रहेको उनले औँल्याए ।

आईएलओ महासन्धि १८२ ले बालश्रमका निकृष्ट स्वरूप तत्काल निषेध र उन्मूलन गर्नुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै उनले उक्त विषयलाई पनि विधेयकमा पर्याप्त स्थान दिनुपर्ने बताए । बालबालिकालाई श्रममा प्रवेश गराउनेभन्दा उनीहरूको बाल्यकाल, शिक्षा र अधिकार संरक्षण गर्नु विधेयकको मूल उद्देश्य हुनुपर्ने उनको धारणा थियो ।

छलफलमा सांसद सोम शर्माले बालश्रमलाई कानुनी निषेध र जरिवानाको विषयमा मात्र सीमित गर्न नहुने बताए । उनका अनुसार पारिवारिक गरिबी, बेरोजगारी, संरक्षणको अभाव, शिक्षामा पहुँचको कमी र बालबालिकामाथि हुने दुरुपयोग पनि बालश्रमका प्रमुख कारण हुन् ।

विशेषगरी ग्रामीण क्षेत्रका आर्थिक रूपमा विपन्न परिवारले बालबालिकालाई रोजगारी र शिक्षाको आशामा काठमाडौंलगायत सहरमा पठाउने अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा बालबालिकालाई काममा पठाउनुपर्ने बाध्यता सिर्जना हुने भन्दै उनले त्यस्ता परिवारको समस्या समाधान नगरी बालश्रम नियन्त्रण गर्न कठिन हुने धारणा राखे ।

बालश्रम रोक्न आग्रह गर्दा आर्थिक अभावमा रहेका परिवारले जीविकोपार्जनको विकल्प खोज्ने गरेको उल्लेख गर्दै शर्माले सरकारले उनीहरूलाई रोजगारी र आर्थिक सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए ।

उनले बालबालिकालाई शोषण गर्ने नियतले श्रममा लगाउने व्यक्ति र आर्थिक बाध्यताका कारण बालबालिकालाई काममा पठाउनुपर्ने अवस्थामा रहेका परिवारलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए ।

सरकारले विपन्न परिवारलाई रोजगारीको अवसर उपलब्ध गराउने, आर्थिक सहयोग गर्ने र विश्वासको वातावरण निर्माण गर्ने हो भने बालश्रममा कमी ल्याउन सकिने उनको तर्क थियो ।

बालश्रम अन्त्यका लागि कानुनी व्यवस्था प्रभावकारी बनाउनुका साथै त्यसको सामाजिक तथा आर्थिक आधारसमेत सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

सांसदहरूको छलफलले बालश्रम नियन्त्रणको विषय उमेरको सीमा र रोजगारदातालाई कारबाही गर्ने व्यवस्थामा मात्र सीमित नभई बालबालिकाको अधिकार संरक्षण, परिवारको आर्थिक सुरक्षा र राज्यको दायित्वसँग समेत जोडिएको देखाएको छ । प्रस्तावित विधेयकलाई अन्तिम रूप दिँदा यी पक्षलाई कसरी समेटिन्छ भन्ने विषय महत्वपूर्ण हुने देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *