काठमाडौं । लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका १४ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र उपस्थित हुन भनेको हो ।
प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून तथा मानव अधिकार महाशाखा (कानुन शाखा) ले जारी गरेको सूचनामा काठमाडौंसहित विभिन्न जिल्लामा दरबन्दी रहेका प्रहरी कर्मचारीलाई सम्बोधन गरिएको छ ।
सूचनाअनुसार सम्बन्धित कर्मचारीले आफू कार्यालयमा अनुपस्थित रहनुको चित्तबुझ्दो कारण खुलाएर तोकिएको समयभित्र प्रहरी प्रधान कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा उनीहरूमाथि प्रहरी नियमावली तथा प्रचलित कानुनअनुसार थप प्रक्रिया अघि बढ्न सक्नेछ ।





