काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने निर्णय विवादमा परेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री कार्यालयको भूमिकामाथि स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको संलग्नता, कर्मचारीमाथि गरिएको व्यवहार र निर्णयको कानुनी आधारबारे गम्भीर प्रश्न उठाउँदै छानबिनको आवश्यकता औँल्याएका हुन् ।
उनले आयोजनाका कर्मचारीलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा मानसिक यातना दिइएको तथा पर्याप्त कानुनी आधारबिना ठेक्का रद्द गरिएको आरोप लगाएका छन् ।
‘ठेक्का रद्द गर्ने अधिकार सरकारसँग होला तर कानुन कुल्चिने अधिकार छैन । यस घटनामा प्रधानमन्त्री कार्यालयको भूमिका र निर्णय प्रक्रियाबारे स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्छ,’ आङ्देम्बेले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन् ।
उनले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमाथि समेत प्रश्न उठाएका छन् । कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय गराउन कसले निर्देशन दिएको थियो र ठेक्का रद्द गर्ने कानुनी आधार के थियो भन्ने विषय सार्वजनिक हुनुपर्ने उनको माग छ ।
‘प्रधानमन्त्री कार्यालय राज्य सञ्चालन गर्ने निकाय हो कि कर्मचारीलाई थुनेर मानसिक यातना दिने यातना गृह रु’ भन्दै उनले राज्यशक्तिको प्रयोग र निर्णय प्रक्रियामा संलग्न पदाधिकारीलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्द गर्ने विषयमा संसदीय तहमा समेत प्रश्न उठेपछि कांग्रेस नेताको यस्तो धारणा आएको हो । कांग्रेसको आह्वानमा गत कात्तिक १७ गते बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिको बैठक बोलाउन माग गरेको थियो ।
त्यसैको पृष्ठभूमिमा मंगलबार बसेको सार्वजनिक लेखा समिति बैठकले ठेक्का रद्द प्रकरणबारे सरकारसँग जवाफ माग्दै सातबुँदे निर्देशन जारी गरेको थियो । समितिले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सार्वजनिक खरिद ऐनको पालना, ठेक्का रद्द गर्ने सरकारी प्रक्रिया तथा राज्यशक्तिको प्रयोगबारे प्रश्न उठाएका थिए ।
आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीको भूमिकासमेत अनुसन्धानको विषय बनाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार मधेस प्रदेशका पाँच जिल्लाका करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने उद्देश्यले अघि बढाइएको आयोजना राष्ट्रिय महत्त्वको परियोजना हो ।
आयोजनाको १३ दशमलव ३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भइसकेको अवस्थामा सरकारी निर्णय र प्रशासनिक हस्तक्षेपका कारण परियोजना प्रभावित हुन नहुने उनको तर्क छ ।
राष्ट्रिय गौरवको आयोजनालाई विवाद र प्रशासनिक हस्तक्षेपमा अल्झाउनुको सट्टा ठेक्का रद्द गर्ने निर्णयको कानुनी आधार, प्रक्रियागत वैधता र त्यसबाट राज्यलाई पर्न सक्ने आर्थिक क्षतिको जिम्मेवारीबारे स्पष्ट छानबिन हुनुपर्ने आङ्देम्बेको माग छ ।




