देश

भारतको असहमतिबीच ईपीजी प्रतिवेदन बुझाउने नेपालको अपेक्षा कायमै

काठमाडौं । नेपाल–भारत सम्बन्ध पुनरावलोकनका लागि तयार पारिएको प्रबुद्ध व्यक्ति समूह ९ईपीजी० को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रस्तुत हुने अपेक्षा नेपालले अझै कायम राखेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा ईपीजी प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने वातावरण बन्ने विश्वास व्यक्त गरेको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रतिवेदन दुवै प्रधानमन्त्रीसमक्ष पेस गर्न आवश्यक समय र अवसर प्राप्त हुने अपेक्षा गरिएको बताए । उनका अनुसार ईपीजी गठन गर्नुका पछाडि रहेका मूल उद्देश्यअनुसार द्विपक्षीय सम्बन्धका विषयमा दुवै देशले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्छ भन्ने नेपालको धारणा छ ।

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले गत सोमबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजी प्रतिवेदन पुरानो भइसकेको र यसको सान्दर्भिकता समाप्त भएको आशय व्यक्त गरेका थिए । भारतीय पक्षबाट यस्तो धारणा सार्वजनिक भएपछि नेपालले पहिलोपटक आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

प्रवक्ता क्षेत्रीले ईपीजीसँग सम्बन्धित विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि नेपालको धारणा स्पष्ट पारिसकेको जानकारी दिए ।

सन् २०१६ मा गठन भएको ईपीजीले सन् २०१८ मै प्रतिवेदन तयार पारेको थियो । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न समय नदिँदा लामो समयदेखि उक्त दस्तावेज अलपत्र अवस्थामा छ ।

प्रतिवेदन तयार पार्दा पहिलो चरणमा भारतीय प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीसमक्ष पेस गर्ने समझदारी भएको थियो । तर, भारतीय पक्षले प्रतिवेदन ग्रहण नगरेपछि प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्रतिवेदन बुझाउने प्रयास लामो समयसम्म सफल नभएपछि नेपालतर्फका ईपीजी संयोजक भेषबहादुर थापाले २०८३ जेठ २१ गते प्रतिवेदन सुरक्षित राखिएको दराजको साँचो परराष्ट्रमन्त्री खनाललाई हस्तान्तरण गरेका थिए ।

नेपाल–भारत सम्बन्धमा देखिएका पुराना समस्या समाधान, सीमा व्यवस्थापन, व्यापार तथा पारस्परिक सम्बन्धका विषयमा सुझाव समेटिएको प्रतिवेदन कार्यान्वयनको प्रक्रियासमेत अघि बढ्न नसक्दा यसको भविष्य अन्योलमा परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *