काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका छन् । नयाँ व्यवस्थाअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम मन्त्रिपरिषद्को तेस्रो वरीयतामा पुगेकी छन् ।
यसअघि सातौं स्थानमा रहेकी गौतमलाई चार स्थान माथि उकासिएको हो । उहाँ तेस्रो स्थानमा पुगेपछि यसअघि उक्त वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल एक स्थान तल झरेका छन् । वरीयता परिवर्तनको प्रभाव ऊर्जा, गृह र पूर्वाधार मन्त्रालयका मन्त्रीहरूमा समेत परेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको मर्यादाक्रम एक–एक स्थान तल झरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीभित्र तेस्रो वरीयतामा हुनुहुन्छ । पार्टीको नेतृत्व तहमा तेस्रो स्थानमा रहे पनि यसअघि मन्त्रिपरिषद्मा भने उनी सातौं वरीयतामा रहेकी थिइन् । पार्टीभित्रको जिम्मेवारी र वरीयतासँग तालमेल मिलाउने गरी प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको हो ।





