देश

ओलीको टिप्पणी : ‘नेपालमा राक्षसीराज चलिरहेको छ’, अन्यायविरुद्ध नेशनल युथ फोर्स चुप बस्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिले राक्षसीराज चलिरहेको टिप्पणी गरेका छन् । उनले यस्तो अवस्था निरन्तर रहे नेशनल युथ फोर्स आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफूलाई विनाकारण गिरफ्तार गरेर सरकारले राक्षसीराज सञ्चालन भइरहेको पुष्टि गरेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई कुनै कारणबिना १३ दिनसम्म हिरासतमा राखिएको भन्दै उनले सरकारको आलोचना गरे । अध्यक्षको गिरफ्तारीपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका पार्टीका नेता तथा कार्यकर्तामाथि सरकारले दुर्व्यवहार र दमन गरेको उनको आरोप थियो ।

ओलीले अब शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भए नेशनल भोलेन्टियर्स फोर्सले प्रतिवाद गर्ने चेतावनी दिए । फोर्स देखाउनका लागि मात्रै गठन नगरिएको उल्लेख गर्दै उनले अन्याय र आक्रमणविरुद्ध चुप लागेर नबस्ने बताए ।

उनले फोर्स शान्ति स्थापना र गलत गतिविधिविरुद्ध खबरदारी गर्न गठन गरिएको स्पष्ट पारे । आफूहरू भिडन्त खोज्न नजाने तर अन्यायपूर्ण आक्रमण भए प्रतिकार गर्न बाध्य हुने उनको भनाइ थियो ।

ओलीले भने, ‘यो जङ्गलीराज मात्रै होइन, यो राक्षसीराज भयो । यदि राक्षसीराज सधैँ चलाउन खोज्छ भने अब नेपाली जनता, युवाहरू र नेशनल युथ फोर्स चुप लागेर बस्दैनन् ।’

उनले नेशनल युथ फोर्सलाई आफ्नो संगठन राष्ट्रव्यापी रूपमा विस्तार गर्दै थप सुदृढ बनाउन निर्देशनसमेत दिए । देशभर हुने बेथिति र गलत गतिविधि रोक्न फोर्स सक्रिय हुनुपर्नेमा जोड दिँदै उनले त्यसविरुद्ध खबरदारी गर्ने जिम्मेवारी संगठनको भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *