देश

कैलाश खड्का पक्राउ प्रकरणः लहरो तान्दा पहरो आउने, राजस्वका पूर्वडीजी पौडेल पनि तानिँदै

काठमाडौं  । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाहरुको संगठन स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्षसमेत रहेका कैलाश खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गएको असोज २७ गते पक्राउ गरेपछि उनले राजस्व अनुसन्धान बिभाग र राजनीतिक शक्तिकेन्द्रमा करोडौं रुपैयाँ बुझाएर राजस्व छली र सम्पत्ति शुद्धीकरण अनुसन्धानबाट उन्मुक्ति पाउँदैआएको खुलासा भएको छ ।

मलेसियामा रोजगारीमा जाने नेपाली कामदारहरूलाई आर्थिक भार थप्नेगरी बढी पैसा लिएर ‘सिण्डीकेट’ चलाएको आरोपमा ब्यूरोले कैलाश खड्कामाथि अनुसन्धान गर्दै जाने क्रममा कुँवर र रायसहितका उच्च सरकारी अधिकारी पक्राउ गरिएको छ ।

बंगलादेशी मूलका नागरिक अमिनसँग मिलेर मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण ३७ वटा संस्थाले मात्र गर्न पाउनेगरी चर्को शुल्क लिंदै सिन्डीकेट कायम गरेर अरबौंपति भएका खड्काका बिरुद्ध राजस्व अनुसन्धान बिभागमा उजुरी परेको र छानबिन समेत भएको थियो । तर राजस्व अनुसन्धान बिभागका तत्कालीन महानिर्देशकलाई ३ करोड रुपैयाँ दिएर उनले उन्मुक्ति पाएको बयान अहिले अनुसन्धानका क्रममा दिएको उच्च स्रोत बताउँछ ।

मलेसिया जाने कामदारसँग कैलाश खड्काको सिन्डीकेटमा आवद्ध ३७ ब्यवसायीहरूले स्वास्थ्य परीक्षणवापत प्रतिब्यक्ति ७ हजार ६ सय ६५ रुपैयाँ शुल्क लिने गरेका छन । त्यसमा स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँ, ३ हजार १ सय ६५ रुपैयाँ मेडिकलवापत मलेसियालाई दिनुपर्ने शुल्क भनेर लिइन्छ । यो ३ हजार १ सय ६५ रुपैयाँ कैलाश खड्का नै संचालक रहेको म्याक्रोटेक प्रा.लि.मा जाने गरेको छ ।

म्याक्रोटेक प्रा.लि.मा जाने गरेको ३ हजार १ सय ६५ रुपैयाँ शक्तिकेन्द्र मिलाउनका लागि खर्च हुने गरेको भन्दै खड्काकै खातामा जाने गरेको छ । २०७१ देखि लाखौं लाख कामदारबाट प्रतिब्यक्ति ३ हजार १ सय ६५ रुपैयाँका दरले म्याक्रोटेक प्रा.लि.का नाममा लिने गरेको अरबौं रकमको बारेमा छानबिन गर्न माग गर्दै राजस्व अनुसन्धान बिभागमा उजुरी परेको थियो । उजुरी परेपछि बिभागका तत्कालीन महानिर्देशक प्रकाश पौडेलले नियन्त्रणमा लिई कामदारले तिरेको म्याक्रोटेक प्रा.लि.को रकमको अनुसन्धान गर्नुपर्नेमा उल्टै सेटिङमा छाडेको खुलासा भएको छ ।

तत्कालीन महानिर्देशक पौडेलले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा.आरजु राणा र उनका भाइ भूषण राणाले दबाब दिएर उन्मुक्ति दिनुपरेको भन्दै आए पनि यथार्थमा उनले सेटिङमा छाडेको ढिलै भए पनि खुलेको छ । आरजु र भूषणतिर देखाएर पौडेलले नै राजस्वमा बसी कैलाश खड्काहरुसँग लाभ लिएको खड्का प्रकरणपछि खुलेको छ ।
कैलाश खड्काले नै ३ करोड रुपैयाँ दिएर राजस्व अनुसन्धान बिभागको उजुरी ढिसमिस पारेको बयान दिएपछि गृहमन्त्रालयअन्तर्गतको कसूरजन्य सम्पत्ति ब्यवस्थापन बिभागमा महानिर्देशक पौडेलसमेत तानिने भएका छन ।

मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने नेपाल स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले राजनीतिक शक्तिकेन्द्रमा बुझाउने भनेर कोभिड–१९ अघि डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोप लागेको थियो ।
पहिला नेपाली राजनीतिक दलका शीर्षनेतालाई बुझाउनुपर्छ भनेर उठाउने गरेका खड्काले समय–समयमा मलेसियाका अमिनलाई घुस दिनुपर्छ भनेर बायोमेट्रिक स्वास्थ्य परीक्षणबापत प्रतिकामदार २ हजार माग्ने गरेका थिए । जुन रकमको पारदर्शीता नभएकाले ब्यवसायीले नदिने भनेपछि विवाद पनि हुँदैआएको छ ।

कैलाश खड्काले ब्यवसायीहरुले कामदारसँग लिने शुल्क ७ हजार ६ सय ६५ मा ३ हजार १ सय ६५ रुपैयाँ मलेसियामा बुझाउनुपर्ने भन्दै आफैं संचालक भएको म्याक्रोटेकमा जम्मा गर्न लगाउँछन् भने बाँकी ४ हजार ५ सय रुपैयाँमा २ हजार कमिशनबापत भनेर मागेपछि ब्यवसायीले जम्मा २ हजार ५ सय मात्र पाउने अवस्था छ ।

बंगलादेशी मूलका मलेसियन नागरिक अमिनलाई घुस बुझाउनुपर्छ भनेर उनले उक्त रकम माग गरेको आरोप छ । पहिला कलिङ भिसा लागेका कामदारको स्वास्थ्य परीक्षण शुल्कबाट कटाएर प्रतिकामदार २ हजारका दरले बंगलादेशी मूलका मलेसियन बिचौलिया अमिनलाई बुझाउनुपर्छ भनेर मागेका थिए खड्काले । यसरी ब्यवसायीसँग बिचौलिया अमिनलाई बुझाउनुपर्छ भनेर २ हजार रुपैयाँ नदिए स्वास्थ्य परीक्षण गर्ने अनुमतिपत्र नै रद्द गर्ने धम्की उनले दिने गरेका थिए ।

कैलाश खड्काले मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नका लागि ३७ वटा संस्थाको सिन्डिकेट बनाई महासंघ खडा गरेका थिए । त्यो महासंघको स्थापनादेखिको अध्यक्ष उनै खड्का छन् ।एक ब्यवसायीले भने– बुढानीलकण्ठ, खुमलटार र बालकोट मिलाउनुपर्छ भन्दै उठाएको रकमले उनले अरबौंको सम्पत्ति जोडेको तथ्य फेलापरेको छ । कैलाश खड्काले बालुवाटार, खुमलटार र बालकोटमा बुझाउने भन्दै प्रतिकामदार असुली गरेको २ हजार कमिशनबाट लाजिम्पाटस्थित शिशु अर्यालको नाममा ४२ आनामा निर्मित बंगला २७ करोडमा खरिद गरेका थिए । जुन बंगलामा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड बस्थे । २०७० सम्म सामान्य आर्थिक हैसियत पनि नभएका कैलाश खड्का अहिले अरब भन्दा बढी सम्पत्तिका मालिक बनेका छन ।

खड्काले सिनामंगलमा २० करोड लगानीमा आफ्नै पीसीआर ल्याब खोलेका छन । श्रीमती, सासु, जेठीसासु र भिनाजुको नाममा विभिन्न ठाउँमा घरजग्गा खरिद गरेको तथ्य पनि फेलापरेको छ । कामदारसँग असुली गरेको पैसाबाट अरबपति बनेका कैलाश खड्काले काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा पत्नी प्रविना प्रजापतिको नाममा ७ आना ३ पैसा, भक्तपुरको सूर्यविनायक नगरपालिका (साविब दधिकोट) मा ७ आना, ललितपुरको टीकाथलीमा ३ कित्ता जग्गा खरिद गरेका छन् ।

त्यसैगरी, उनले पत्नी प्रविनाको नाममा काठमाडौं महानगरपालिकामै ८ आना लिएको प्रमाण फेलापरेको छ भने गागलफेदी मा २ कित्ता छ । कैलाश खड्काले आफ्नै नाममा पनि १० आना जग्गा गागलफेदीमा किनेका छन ।
त्यसैगरी काठमाडौंको इन्द्रायणी ७ मा ६ कित्ता जग्गा छ । जसको क्षेत्रफल २ रोपनी भन्दा बढी हुन आउँछ । खड्काले सासु ज्ञानी प्रजापतीको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर १० मा ७ आना जग्गा किनेका छन । यसका अलावा काठमाडौंका विभिन्न ठाउँमा र चितवन लगायतका धेरै स्थानमा जग्गा खरिद गरेको तथ्य प्राप्त भएको छ ।

खड्कासँगै राम श्रेष्ठ पनि तानिने

मलेसियामा भीएलएन नेपालले भीएलएन मलेसियालाई पठाउनुपर्ने झण्डै ६ अर्ब ५० करोड रुपैयाँ भीएलएन हङकङ पठाएर करोडौँ रुपैयाँ घोटाला गरेको काण्ड उजागर भएको छ । राम श्रेष्ठले भीएलएनका नाममा करछली गर्न हङकङ पठाएको रहस्य खुलेको छ ।

त्यसैगरी कैलाश खड्काले पनि म्याक्रोटेक प्रालिका नाममा जम्मा भएको ३ अर्बभन्दा बढी रकम बायोमेट्रिक स्वास्थ्य परीक्षण गरेबापतको प्रतिकामदार ३ हजार १ सय ६५ रुपैयाँ पनि नपठाई आफैंले पचाएका त छैनन भन्ने आशंका ब्याप्त छ ।

बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने ३७ वटै संस्थाले ३ हजार १ सय ६५ रुपैयाँँ कैलाश खड्काकै म्याक्रोटेकलाई बुझाउँदै आएका छन । त्यो रकम पनि खड्काले कर तिर्नु नपर्ने गरी हङकङ पठाएको हुनसक्ने भएकाले ब्यवसायीले छानबिनको माग गरेका छन ।

भीएलएन नेपालले उठाएको ट्याक्स फ्रिजोन र मलेसिया पठाउनुपर्ने उक्त रकम हङकङ पठाउने नेपाल राष्ट्र बैंकको निर्णय छानबिन गर्नुपर्ने माग भइरहेको छ । ‘कैलाश खड्काले मलसियाको बायोमेट्रिक कम्पनीलाई दिनुपर्छ भनेर प्रतिकामदार असुली गरेको ३ हजार १ सय ६५ रुपैयाँ रकमको बारेमा पनि छानबिन हुनुपर्छ’ एक स्वास्थ्य ब्यवसायीले भने, भीएलएन प्रकरणसँगै बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने कैलाश खड्काले ५ बर्षमा जम्मा गरेको अथाह सम्पत्तिले पनि मलेसिया पठाउने भनेर कामदारसँग लिएको ३ हजार १ सय ६५ रुपैयाँसमेत मलेसिया नपठाइएको बारेमा समेत छानबिन गर्न माग गर्दैै राजस्व अनुसन्धान बिभागमा उजुरी परेको थियो ।

पूर्वराज्यमन्त्री गुरुङमाथि पनि छानबिन हुने

त्यसो त, २०७१ मा बंगलादेशी मूलका मलेसियन बिचौलिया अमिनसँग लाभ लिएर स्वास्थ्य परीक्षणमा सिन्डीकेट लगाउने निर्णय गराउने तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङसमेत छानबिनमा तानिने भएका छन । कैलाश खड्का र गुरुङले अमिनसँग सेटिङ गरी स्वास्थ्य परीक्षणमा सिन्डीकेट लगाएर कामदारलाई महंगो शुल्क तिर्न बाध्य पारी त्यसबापत मोटो कमिसन खाने गरेको आरोप त्यतिबेलै पनि लागेको थियो ।

गुरुङले निर्णय गरेको र पछि शरदसिंह भण्डारी श्रममन्त्री भएको समयमा खड्काले सेटिङ गरी स्वास्थ्य परीक्षण शुल्क बढाएका थिए । शुल्क बढाउने क्रममा शरदसिंहले ठूलै आर्थिक लेनदेन गरेको आरोप लागेको थियो । तर दुई पूर्व श्रममन्त्री र पूर्वमुख्यसचिव पक्राउ पर्दा पनि शरदसिंहलाई भने ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको ससुरा भएकै आधारमा उन्मुक्ति दिइएको आशंका गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *