देश

विपदको पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली आज परीक्षण गरिँदै, सतर्कता सन्देश आए नआत्तिन आग्रह

काठमाडौँ। विपदका समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सिबिएस)को परीक्षण गरिने भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा सोमबार साँझ ५:३० बजे प्राविधिक परीक्षण गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । उक्त परीक्षणका क्रममा काठमाडौँका सीमित क्षेत्रमा सतर्कता सन्देश आएमा नआत्तिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

यस परीक्षणको मुख्य उद्देश्य विपदका समयमा मोबाइल फोनमार्फत पूर्वसूचना सन्देश प्रवाह गर्ने प्रणालीको प्राविधिक कार्यक्षमता तथा सन्देश प्राप्त हुने अवस्थाको परीक्षण गर्नु रहेको छ ।

दूरसञ्चार प्राधिकरणका अनुसार ‘सेल ब्रोडकास्टिङ’ प्रणाली निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी सन्देश पठाउन सकिने प्रविधि हो । यस प्रणालीमार्फत सिमकार्ड वा इन्टरनेट सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुन सक्छ ।

सामान्य म्यासेजभन्दा फरक किसिमको यस प्रविधिले नेटवर्कमा अत्यधिक चाप भएका अवस्थामा छोटो समयमा धेरै मोबाइल उपकरणमा सूचना पुर्‍याउन सक्छ । साथै, विपद््को जोखिम रहेको निश्चित क्षेत्रमा मात्र सन्देश पठाउन सकिने भएकाले आवश्यकताअनुसार लक्षित समुदायलाई सचेत गराउन सकिनेछ ।

प्रारम्भिक परीक्षण सफल भएमा उक्त प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै विपदको उच्च जोखिम रहेका क्षेत्रमा कार्यान्वयन गर्ने योजना रहेको गृह मन्त्रालयले जनाएको छ ।

यस प्रणालीको कार्यान्वयनले बाढी, पहिरोलगायत प्राकृतिक विपद््को जोखिम रहेका क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी र सुरक्षात्मक उपाय अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा विपद्् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा दूरसञ्चार प्रविधिको उपयोगमार्फत नागरिकको सुरक्षा सुनिश्चित गर्ने दिशामा यो परीक्षणलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *