कास्की । पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा कास्की जिल्ला अदालतले संस्थाका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।
अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
त्यस्तै, सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको उहाँले जानकारी दिनुभयो ।
अर्का प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद र २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
शाखा अधिकृत पोखरेलका अनुसार प्रतिवादीहरूबाट १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगोसमेत असुल गर्न माग गरिएको छ । न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ गते फैसला सुनाएको हो । फैसलाको पूर्णपाठ भने आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
सहकारीका बचतकर्ताले संस्थापक अध्यक्ष नेपालीसहित १५ जनाविरुद्ध गत वर्ष दायर गरेको अभियोगमाथि सुनुवाइ गर्दै अदालतले उक्त फैसला गरेको हो ।
विसं २०७९ को स्थानीय तह निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली बागलुङमा रहेको सोही नामको सहकारी ठगी प्रकरणमा विसं २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् ।
नेपालीमाथि पोखरा र बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना गरेको आरोप छ ।




