देश

कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट टाढिएका मतदातालाई पुनः जोड्ने, सङ्गठन सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारी गर्ने उद्देश्यसहित आज (मङ्गलबार) देखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।

सभापति गगनकुमार थापाको नेतृत्वमा सञ्चालन हुने एकमहिने अभियानमा वडा तहदेखि केन्द्रसम्मका करिब तीन लाख नेता तथा कार्यकर्ता परिचालित हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

उनका अनुसार अभियानको मुख्य उद्देश्य पार्टी सङ्गठनलाई थप चलायमान बनाउने, स्थानीय तह निर्वाचनको पूर्वतयारी गर्ने तथा कांग्रेसका नीति, धारणा र गतिविधिलाई आमनागरिकसम्म पुर्‍याउनु रहेको छ ।

अभियानका क्रममा आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सन (प्राथमिक निर्वाचन) प्रक्रिया, जिल्ला तथा प्रदेश तहका अधिवेशन र अन्य साङ्गठनिक गतिविधिलाई समेत प्राथमिकता दिइनेछ ।

महामन्त्री पौडेलले कांग्रेस अहिले प्रतिपक्षमा रहे पनि राष्ट्रिय जिम्मेवारी पूरा गर्न पार्टी तयार र प्रतिबद्ध रहेको सन्देश दिन अभियान सञ्चालन गर्न लागिएको बताए ।

उनले विगतमा कांग्रेसलाई मतदान गर्दै आएका तर पछिल्लो समय पार्टीबाट टाढिएका मतदातासँग संवाद गर्ने, उनीहरूका गुनासा र प्रश्न सुन्ने तथा पार्टीप्रति विश्वास पुनः स्थापित गर्दै उनीहरूलाई कांग्रेससँग जोड्ने अभियानको अर्को महत्त्वपूर्ण उद्देश्य रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *