जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
छठ पर्वका अवसरमा रास्वपाले शुक्रबार जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामिछानेले अब जनतामाझ आश्वासन र वाचापत्र मात्र नभई परिणाम लिएर जाने बताएका हुन् ।
जनताले पार्टीलाई दिएको अपार विश्वास खेर जान नदिने उल्लेख गर्दै उनले जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
‘हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ,’ उनले भने ।लामिछानेले पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने स्पष्ट पारे । रास्वपाले गरिब तथा विपन्न बस्तीमा टिकट नभई शिक्षा, स्वास्थ्य र रोजगारी पुर्याउने उद्देश्य राखेको उनको भनाइ थियो ।
‘यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो,’ उनले भने ।
सभापति लामिछानेले जनताको हितका सवालमा आफ्नो पार्टीको सरकार भए पनि वा अन्य दलको सरकार भए पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने बताए । उनले यसलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गरे ।
सरकारले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न तल्लीन हुनुपर्ने उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । सभापति लामिछाने दम्पती छठ पर्व मनाउन शुक्रबार जनकपुरधाम आइपुगेका हुन् ।




