देश

दशौँ राष्ट्रिय खेलकुदका लागि उडान थप्न मन्त्री पोखरेलको आग्रह

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद–२०८३ लाई सफल बनाउन खेलाडी, खेलकर्मी र खेलप्रेमीको आवागमन सहज हुने गरी हवाई सेवा विस्तार गर्न वायुसेवा सञ्चालकहरूलाई आग्रह गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी तथा आन्तरिक वायुसेवा सञ्चालकका प्रतिनिधिसँग भएको छलफलमा मन्त्री पोखरेलले प्रतियोगिता अवधिभर आवश्यकताअनुसार उडान व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

कर्णाली प्रदेशको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुदका केही प्रतियोगिता भोलिदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते हुनेछ ।

छलफलमा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदलाई प्रतियोगितामा मात्र सीमित नराखी राष्ट्रिय महोत्सवका रूपमा विकास गर्नुपर्ने बताए । प्रतियोगिताको प्रचारप्रसार, प्रवर्द्धन, मार्केटिङ र ब्रान्डिङमार्फत मुलुकमा खेलकुदको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, “राष्ट्रिय खेलकुदलाई नयाँ तरिकाबाट लैजानुपर्छ । मार्केटिङ र ब्रान्डिङ गरी यसैमार्फत मुलुकमा खेलको माहोल बनाउनुपर्छ । राष्ट्रिय खेलकुदलाई कम्तीमा एसियाली र ओलम्पिक खेलकुदको स्तरमा पुर्‍याउने लक्ष्यसहित तयारी गर्नुपर्छ । यसलाई एसियाली र ओलम्पिक खेलकुदको छनोट प्रतियोगिताका रूपमा समेत हेर्नुपर्छ ।”

दशौँ राष्ट्रिय खेलकुदको तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समयमै समन्वय हुनुपर्ने बताए ।

सुर्खेत, जुम्लालगायत प्रतियोगिता आयोजना हुने गन्तव्यमा खेलाडी तथा दर्शकको चाप बढ्ने भएकाले आवश्यकताअनुसार उडान सङ्ख्या थप्न उनले वायुसेवा कम्पनीहरूलाई आग्रह गरे ।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले राष्ट्रिय खेलकुद सफल बनाउन खेल प्रवर्द्धन र प्रचारप्रसारमा सबै पक्षले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए ।

मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकारले प्रतियोगितालाई लक्षित गरी एयरलाइन्सहरूले आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने बताए । उनले खेल आयोजना हुने गन्तव्यमा यात्रुको चापअनुसार उडान विस्तार गर्न आग्रह गरे ।

क्यानका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले प्रतियोगिता सफल बनाउन हवाई सेवा सहज र प्रभावकारी बनाउन प्राधिकरणले वायुसेवा कम्पनीहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाए ।

छलफलमा सहभागी वायुसेवा कम्पनीका प्रतिनिधिहरूले राष्ट्रिय खेलकुद अवधिभर सुर्खेत, जुम्लालगायत गन्तव्यमा हवाई सेवा सहज बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् । यात्रुको चाप र आवश्यकताका आधारमा उडान सङ्ख्या थप गर्न आफूहरू तयार रहेको उनीहरूले बताए ।

हाल सुर्खेतमा बुद्ध एयर र श्री एयरलाइन्सले नियमित उडान गर्दै आएका छन् । सुर्खेतलाई आधार बनाएर तारा एयर र सीता एयरले जुम्लामा सातामा दुईवटा उडान सञ्चालन गरिरहेका छन् ।

त्यसैगरी जुम्लामा नेपाल वायुसेवा निगम र समिट एयरमार्फत हवाई सेवा थप सहज बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *