देश

नेपालगञ्जमा रगतको अभाव कायमै, दैनिक ८० पिन्टसम्म माग

बाँके । चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगञ्जमा रगतको अभाव हटन सकेको छैन ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव हटाउन नियमित रक्तदान कार्यक्रम अनिवार्य भएको उल्लेख गरे ।

उनले भने, ‘नेपालगञ्जका अस्पतालका लागि मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत माग हुन्छ तर त्योभन्दा निकै कम मात्रामा रगत मौज्दात रहेको छ’, प्रमुख रेग्मीले लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत पु¥याउनुपर्ने दायित्व भएको जानकारी दिँदै संस्थागत रक्तदानले संस्थालाई बल पुग्ने बताए ।

उक्त रक्तसञ्चार केन्द्रले खजुरा र कोहलपुरका शाखाबाट समेत रगत सङ्कलन गरेको छ । उनले कतिपय घटनामा बिरामीका लागि सट्टापट्टा हुने गरी रगत लिने दिने भइरहेको उल्लेख गर्दै रगतको अभाव हटाउन रक्तदान बढाउन जरुरी भएको बताए ।

‘अहिले केही संस्थाले फाटफुट रूपमा रक्तदान गरिरहेका छन् तर यो पर्याप्त छैन’, रेग्मीले भने । उनले केहीदिनमा अर्को संस्थाले पनि रक्तदान गर्न लागेको जानकारी दिँदै केही पिन्ट रगत त्यहाँबाट पनि सङ्कलन हुने बताए ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका अनुसार कोहलपुरमा आठ अस्पतालका लागि २० देखि २५ पिन्ट र खजुराका दुइ अस्पतालका लागि १० देखि १२ पिन्ट रगतको दैनिक माग भइरहेको छ । नेपालगञ्जका २७ अस्पतालका लागि करिब ८० पिन्ट रगतको माग भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, बाँकेका सभापति गोवद्र्धन सम्झनाले विभिन्न प्रक्रियाबाट रक्तदान भइरहेको जानकारी दिँदै रगत लिने दिने प्रणालीबाट पनि समस्याको समाधान भइरहेको बताए ।

उनले रगत अभावका कारण नेपालगञ्जमा ठूलो समस्या नआएको उल्लेख गर्दै आवश्यक पर्दा स्वयंसेवी रक्तदातामार्फत रगतको अभाव हटाइएको बताए ।

पैतालीस पटकसम्म रक्तदान गर्नुभएका नेपालगञ्ज–९ निवासी झविन्द्र शर्माले रगत लिएपछि दिनु पनि पर्छ भन्ने भावनाको विकास सबैमा हुनुपर्ने उल्लेख गर्दै जन्मदिन र वैवाहिक उत्सवमा पनि रक्तदान गर्ने प्रचलन बढ्न थालेको बताए । उनले कम्तीमा वर्षमा दुई पटक भए पनि रक्तदानका लागि कार्यक्रम बनाउन स्थानीय सरकारसँग आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *