काठमाडौं । सशस्त्र प्रहरी बलका बर्खास्त एआईजी वंशीराज दाहालले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन् ।
दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन पेस गरेका हुन् । उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्सँग रहेको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णयलाई नै सदर गरेमा दाहाललाई अदालत जाने बाटो खुल्नेछ । प्रचलित कानुनी प्रक्रियाअनुसार बर्खास्तीको निर्णयविरुद्ध सोझै अदालत जान नमिल्ने भएकाले उनले पहिले मन्त्रिपरिषद्मा पुनरावेदन दिएको स्रोतको भनाइ छ ।
सरकारले संवेदनशील तथा गम्भीर सूचना चुहाएको आरोपमा गत असोज २३ गते दाहाललाई पदबाट बर्खास्त गरेको थियो । बिचौलियाको आरोप लागेका इनम सापकोटासँग सम्बन्ध रहेको र प्रधानमन्त्रीसँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोप उनीमाथि लगाइएको थियो ।
इनम पक्राउ परेपछि उनको मोबाइलमा एआईजी दाहालसँगको सम्पर्क देखिएको थियो । त्यसपछि इनमसँगको सम्बन्ध र संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले असोज १९ गते दाहाललाई निलम्बन गरेको थियो ।




