काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । साथै, नेपालका तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतमा बिक्री गर्न पनि स्वीकृति प्राप्त भएको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजारको डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो ।
प्राधिकरणले २०८३ मङ्सिर १ देखि २०८४ साउन १५ गतेसम्म विद्युत् आयात गर्न पाउनेछ । तर, बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म आयात गर्न पाइने छैन ।
स्वीकृतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया प्रसारण लाइनबाट ५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट ३५० मेगावाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदमा माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सहज हुने बताएका छन् ।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेपछि ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् । यसले आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनाएको छ ।
प्राधिकरणको प्रक्षेपणअनुसार यस वर्ष पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत्को माग बढी हुनेछ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाट विद्युत् आयात गर्नुपर्ने देखिएको छ । उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात आवश्यक पर्ने अनुमान गरिएको छ ।
पुस र चैतमा तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने प्राधिकरणको आकलन छ । वैशाखदेखि नदीमा पानीको बहाव बढेसँगै आन्तरिक उत्पादन वृद्धि हुने र विद्युत् आयात घटाउँदै पुनः निर्यात सुरु गर्न सकिने अपेक्षा गरिएको छ ।
यसैबीच, प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । उक्त विद्युत् पनि २०८३ मङ्सिर १ देखि २०८४ साउन १५ गतेसम्म निर्यात गर्न सकिनेछ ।




