काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि अनुकूल बन्दै गएको बताएका छन् ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभाको निर्वाचनको तुलनामा आगामी निर्वाचन एमालेका लागि अनुकूल वातावरण बन्दै गएको बताएका हुन् । उनले स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा गम्भीरतापूर्वक जुट्न कार्यकर्तालाई निर्देशन दिए ।
ओलीले स्थानीय तह र प्रदेशसभा निर्वाचन स्थानीय तथा प्रदेश सरकार गठनमा मात्र सीमित नरहेको उल्लेख गर्दै राष्ट्रियसभा र राष्ट्रपति निर्वाचनसँग समेत जोडिएको बताए ।
स्थानीय तहका प्रमुख तथा उपप्रमुख राष्ट्रियसभा निर्वाचनका मतदाता हुने भएकाले स्थानीय तह निर्वाचनको परिणाम राष्ट्रियसभा गठनका दृष्टिले पनि महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
त्यस्तै, प्रदेशसभा निर्वाचनले प्रदेश सरकार गठन, स्रोतसाधन परिचालन र विकास निर्माणका साथै राष्ट्रियसभा निर्वाचनका लागि थप मतभार भएका मतदाता चयन गर्ने उनले बताए । प्रदेशसभा सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता समेत हुने भएकाले आगामी निर्वाचनहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको उनको भनाइ थियो ।
आगामी दिनमा स्थानीय तह, प्रदेशसभा, राष्ट्रियसभा तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुने उल्लेख गर्दै ओलीले यी सबै निर्वाचनलाई रणनीतिक महत्त्वका साथ लिनुपर्ने बताए । उनले स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर संगठन निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिए ।
कार्यकर्ताबीच एकता नहुँदा एमालेले विगतका निर्वाचनमा धक्का व्यहोर्नुपरेको उल्लेख गर्दै ओलीले निर्वाचनमा असहयोग गर्नेलाई वडा तहबाटै कारबाही गर्न निर्देशनसमेत दिए ।
उनले आगामी निर्वाचनका लागि एमालेको पक्षमा अनुकूल वातावरण रहेको दाबी गरे । यद्यपि, सरकारको क्रियाकलाप अझै स्वेच्छाचारी रहेको उनको आरोप थियो ।
यसैबीच, ओलीले गत फागुनमा भएको निर्वाचन भदौ २३ र २४ गतेका घटनालाई वैधानिकता दिन राज्यशक्तिको दुरुपयोग गरेर गराइएको आरोप लगाए । उक्त निर्वाचनमा राज्यशक्तिको प्रयोग गरी शान्तिपूर्ण रूपमा बुथ कब्जा गरिएको उनको दाबी थियो ।
उनले आगामी निर्वाचनलाई महत्त्वका साथ लिँदै योजनाबद्ध रूपमा पार्टी संगठन परिचालन गर्नुपर्नेमा जोड दिए ।




