काठमाडौं । नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ । लामो दूरीसम्म कुनै दानापानी नदिइ, क्षमताभन्दा बढी सङ्ख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार गरिएको पाइएको हो ।
नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा तस्विर तथा श्रव्यदृश्य सङ्कलनका क्रममा विशेषगरी राँगाभैँसी, बाख्रा र कुखुराको ढुवानीमा पशु कल्याणसम्बन्धी मापदण्डको उल्लङ्घन हुने गरेको पाइएको हो । समाजले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सबैभन्दा टाढा सुदूरपश्चिमको कैलाली, टीकापुर, अत्तरियालगायत क्षेत्रबाट काठमाडौँसम्म भैँसी ल्याउँदा ४८ देखि ७२ घण्टासम्म लाग्ने जनाएको छ ।उक्त अवधिमा कतिपय पशुलाई पानी तथा खाना उपलब्ध नगराइने गरेको तथ्य सार्वजनिक गरेको हो ।
‘लामो दूरीको यात्रामा पशुलाई पानी खुवाउने, खाना दिने र आराम गराउने व्यवस्था हुनुपर्ने हो । तर, एउटै ट्रकमा क्षमताभन्दा बढी पशु कोचेर ल्याउने गरिएको छ । यसक्रममा उनीहरूलाई चोटपटक लाग्ने, घाउ हुने र शारीरिक तथा मानसिक पीडा भोग्नुपर्ने अवस्था छ,’ समाजका निर्देशक हरि जोशीले भने ।
उनका अनुसार राँगाभैँसीलाई विशेष प्रयोजनका लागि तयार गरिएका ढुवानी सवारीसाधनको सट्टा तरकारी तथा अन्य सामान बोक्ने ट्रकमा ओसारपसार गर्ने गरिएको छ । कतिपय अवस्थामा साना र ठूला राँगाभैँसीलाई एउटै ठाउँमा राख्ने तथा पर्याप्त स्थान नदिइ बाँधेर ल्याउने गरिएकाले उनीहरूलाई थप असहज हुने गरेको उनको भनाइ छ ।
कुखुरा तथा बाख्राको ढुवानीमा पनि यस्तै समस्या देखिएको समाजका निर्देशक जोशीले बताए । समाजले पशुपन्छीमाथि हुने यस्ता व्यवहार न्यूनीकरण गर्न जनचेतनामूलक केन्द्रित अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ । ढुवानीका क्रममा देखिएका समस्या उजागर गर्न फोटो तथा भिडियो सङ्कलन गरी सार्वजनिक गर्ने अभियान सुरु गरिएको निर्देशक जोशीले जानकारी दिए ।
उनले पशुपन्छीको व्यापार तथा मासु व्यवसायको विरोध नभई व्यवसाय सञ्चालनका क्रममा जनावरमाथि हुने क्रुर व्यवहार रोक्नुपर्नेमा जोड दिए । ‘पशु पनि जीवित प्राणी हुन् । उनीहरूलाई पनि भोक, प्यास, डर र पीडा हुन्छ । त्यसैले सुरक्षित ढुवानीको व्यवस्था गर्नु राज्य र सबै सरोकार भएका निकायको दायित्व हो,’ उनले भने ।
पशु ढुवानीका लागि सरकारले मापदण्ड बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको समाजका निर्देशक जोशीको भनाइ छ । पशु ढुवानी मापदण्डलाई समयानुकूल परिमार्जन गर्ने विषयमा सरकारी निकायले चासो देखाए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने प्रगति हुन नसकेको उनले बताए ।
निर्देशक जोशीले पशु ढुवानीलाई व्यवस्थित बनाउन विशेष प्रकारका सवारीसाधन प्रयोग गर्नुपर्ने र त्यस्ता सवारीसाधन खरिद तथा सञ्चालनमा व्यवसायीलाई सरकारले सहुलियत र राजस्व छुट दिनुपर्ने सुझाव दिए ।
त्यस्तै, लामो दूरीमा पशु ओसारपसार गर्दा बीचबीचमा विश्रामस्थल (रेस्टिङ सेन्टर) स्थापना गर्नुपर्ने उनको भनाइ छ । त्यस्ता केन्द्रमा पशुलाई पानी तथा दानापानी खुवाउने, आराम गराउने र आवश्यक उपचार गर्ने व्यवस्था हुनुपर्ने उनले बताए ।
काठमाडौंमा पशु ढुवानीका कारण उत्पन्न हुने फोहोर तथा सरसफाइको समस्या न्यूनीकरण गर्न चितवन आसपासमै आधुनिक तथा व्यवस्थित वधशाला स्थापना गर्नु अर्को विकल्प हुनसक्ने जोशीले उल्लेख गरे ।
समाजका अनुसार काठमाडौंमा राँगाभैँसी तथा अन्य पशुपन्छी कैलाली, टीकापुर, अत्तरिया, नेपालगञ्ज, बर्दिया, नवलपरासी, बारा, जनकपुर, विराटनगरलगायत क्षेत्रबाट ल्याइने गरेका छन् । पशु ढुवानीको अनुगमन प्रणालीसमेत प्रभावकारी नभएको समाजको भनाइ छ ।
विभिन्न स्थानमा रहेका क्वारेन्टाइन कार्यालयले पशुको स्वास्थ्य प्रमाणपत्रका आधारमा ढुवानी प्रक्रिया अघि बढाउने गरे पनि वास्तविक अवस्थामा पशुलाई कस्तो तरिकाले ओसारपसार गरिएको छ भन्ने विषयमा पर्याप्त स्थलगत अनुगमन हुन नसकेको जोशीले बताए ।
उनले पशु सेवा विभाग, क्वारेन्टाइन कार्यालय, ट्राफिक प्रहरी, पशु खरिद बिक्री व्यवसायी तथा ढुवानी व्यवसायीबीच समन्वय र सहकार्य बढाएर पशु ढुवानीसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे ।




