देश

निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीको काँधमा : मन्त्री रावल

ललितपुर। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवाप्रति नागरिकको गुम्दै गएको विश्वास पुनःस्थापित गर्ने जिम्मेवारी नयाँ पुस्ताका कर्मचारीको काँधमा रहेको बताएकी छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री रावलले प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहितालाई सरकारले प्राथमिकतामा राखेको बताइन् ।

उनले कर्मचारीतन्त्रमा देखिएको चलखेल, भनसुन र सेवाप्रवाहमा हुने ढिलासुस्ती अन्त्य गर्नुपर्नेमा जोड दिइन् । राज्यले खटाएको कार्यस्थलमा जान नमान्ने कर्मचारी प्रवृत्तिका कारण दुर्गम क्षेत्र तथा स्थानीय तहमा सेवा प्रवाह र विकास निर्माण प्रभावित भइरहेको उनको भनाइ थियो ।

मन्त्री रावलले भनिन्, “राजनीति र कर्मचारी प्रशासनमा भनसुन र विकृति अन्त्य गर्नुपर्ने छ । त्यो विकृति हटाउने गरी संसद्मा विधेयक दर्ता गरिएको छ । संसद् सुरु हुनेबित्तिकै छलफलमा आउँछ । निजामती सेवाका नवप्रवेशीले यस सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी पूरा गर्नुपर्छ ।”

निजामती सेवा ऐन आउन ढिलाइ हुनुमा कर्मचारीतन्त्रभित्रकै कतिपय प्रवृत्ति र प्रक्रियागत कमजोरी जिम्मेवार रहेको उल्लेख गर्दै उनले गलत अभ्यास अन्त्यको सुरुवात उच्च तहका कर्मचारीबाटै हुनुपर्ने बताइन् ।

कानुनविपरीत काम गर्न दबाब आए अस्वीकार गर्न सक्नुपर्नेमा जोड दिँदै मन्त्री रावलले कानुनसम्मत काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण र प्रोत्साहन गर्ने स्पष्ट पारिन् ।

उनले भनिन्, “राजनीतिक नेतृत्व परिवर्तन भइरहन्छ, तर राज्य सञ्चालनको स्थायी जिम्मेवारी कर्मचारीतन्त्रकै हुन्छ । त्यसैले कुनै राजनीतिक नेतृत्वले कानुनविपरीत काम गर्न लगाए पनि कर्मचारीले त्यसलाई अस्वीकार गर्न सक्नुपर्छ ।”

सामान्य सरकारी सेवा लिनसमेत नागरिकले लामो समय कुर्नुपर्ने, बिचौलियाको सहारा लिनुपर्ने र अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्थाले सार्वजनिक प्रशासनप्रति निराशा बढाएको उनको भनाइ थियो । यस्तो अवस्था अन्त्य गरी जनतालाई छिटो, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउनु कर्मचारीको मुख्य दायित्व रहेको उनले बताइन् ।

सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, निष्पक्ष र परिणाममुखी बनाउन सरकार र कर्मचारीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताका कर्मचारीले सेवामा प्रवेश गर्दाको उत्साह, इमानदारी र राष्ट्रप्रतिको जिम्मेवारी सेवाकालभर कायम राख्नुपर्ने बताइन् ।

कार्यक्रममा महालेखा नियन्त्रक वैकुण्ठप्रसाद अर्यालले सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न निकायबीच समन्वय र साझेदारी आवश्यक रहेको बताए ।

नायब महालेखापरीक्षक घनश्याम पराजुलीले नवप्रवेशी अधिकृतलाई आन्तरिक तथा अन्तिम लेखापरीक्षण, बजेट तर्जुमालगायतका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहका कानुनअनुसार ज्ञान, सीप र क्षमता हासिल गरी सेवामा लागू गर्न आग्रह गरे ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद भट्टले नवप्रवेशी अधिकृतलाई जनताको सेवामा उत्कृष्टता हासिल गर्ने प्रवृत्तिको विकास गर्न सुझाव दिए ।

त्यसैगरी परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्ण ढकालले सेवाकालीन तालिमलाई ज्ञान र चेतना विकास गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिन आग्रह गरे । सङ्घीय संसद् सचिवालयका सहसचिव रामहरि थापाले भ्रष्टाचार निरुत्साहित गर्दै नैतिकता र सदाचारलाई जीवनशैली बनाउनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रामप्रसाद घिमिरेले परिवर्तनलाई आत्मसात् गर्दै निःस्वार्थ रूपमा राष्ट्र सेवामा समर्पित हुन आग्रह गरे । वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पौडेलले सक्षमतामा आधारित छमहिने पाठ्यक्रमले सार्वजनिक प्रशासनका आधारभूत मूल्य र मान्यता विकास गर्न सहयोग पुग्ने बताए ।

आइतबारदेखि छ महिनासम्म सञ्चालन हुने तालिममा परराष्ट्र सेवाका नौ, लेखापरीक्षण समूहका ११, सङ्घीय संसद् सेवाका चार, सामान्य प्रशासनतर्फका १२८ र राजस्वतर्फका ३७ गरी कुल १८९ जना अधिकृत सहभागी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *