गण्डकी । फोहरलाई व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा मात्र नभई आर्थिक मूल्य सिर्जना गर्न सकिने स्रोतका रूपमा उपयोग गर्न पोखरामा आयोजित ‘आरयू फेस्ट–२०२६’ ले प्रेरित गरेको छ ।
फोहरजन्य वस्तुको पुनः प्रयोग र प्रशोधनमार्फत उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा वातावरण संरक्षणको सन्देश दिन पोखरा महानगरपालिकाले बुधवार र बिहीबार दुईदिने उत्सव आयोजना गरेको हो ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’ अन्तर्गत आयोजित यो दोस्रो संस्करण हो ।
उत्सवमा पुनः प्रयोग र प्रशोधनबाट तयार पारिएका सामग्रीको प्रदर्शनी तथा बिक्री, फेसन शो, नाटक, कार्यशाला, खेल तथा कलासम्बन्धी गतिविधि सञ्चालन गरिएका थिए ।
फोहरप्रतिको परम्परागत सोच परिवर्तन गरी त्यसको उपयोगिता र सम्भावना पहिचान गर्न उत्सवले सहयोग पुगेको अवलोकनकर्ताले बताएका छन् ।
पोखरा महानगरपालिका–१८ सराङकोटका सूर्यप्रसाद तिमिल्सिनाले फोहरको सदुपयोगसम्बन्धी ज्ञान, सीप, प्रविधि र नवप्रवर्तनबारे जानकारी लिन उत्सव उपयोगी भएको बताए ।
‘हरेक व्यक्ति र परिवारमा यसरी नै सचेतना पुर्याउन सकियो भने घरघरबाट निस्कने फोहरमा धेरै कमी आउँछ’, उनले भने, ‘यस्तो उद्यममा लागेकाहरूलाई प्रोत्साहित गर्ने नीति राज्यले ल्याउनुपर्छ ।’
एसओएस हर्मन माइनर विद्यालय गण्डकीमा कक्षा १० मा अध्ययनरत छात्रा ग्रिष्मा चिलुवालले उत्सवले फोहरप्रतिको नकारात्मक सोच परिवर्तन गर्न सहयोग गरेको बताए । फोहरलाई पुनः प्रयोग गरेर उपयोगी सामग्री बनाउन सकिने कुरा उत्सवबाट सिक्न पाएको उनको भनाइ थियो ।
पुराना पत्रिकाबाट सीसाकलम उत्पादन गर्दै आएकी उद्यमी सिर्जना तिवारीले आफ्ना उत्पादनको प्रदर्शनी तथा बजारीकरणका लागि उत्सव उपयोगी भएको बताइन् । उनीसहित पाँच जना महिलाले डेढ वर्षदेखि ‘पोखरेली सीसाकलम’ उद्यम सञ्चालन गर्दै आएका छन् ।
‘पढिसकेपछि खेर जाने पत्रिकालाई पुनः प्रयोग गरेर सीसाकलम उत्पादन गर्दै आएका छौँ’, उनले भनिन्, ‘स्टेशनरी पसल, विद्यालय र होटलबाट माग आउने गरेको छ । बजारमा पाइने अन्य सीसाकलमभन्दा यसको मूल्य केही बढी छ ।’
उत्सवमा प्लास्टिक, बोतल, कपडा र कागजलगायत फालिएका वस्तु पुनः प्रयोग तथा प्रशोधन गरेर बनाइएका सामग्री प्रदर्शनी तथा बिक्रीमा राखिएका थिए । फोहरबाट बनाइएका खेलौनादेखि इकोब्रिकसम्मका सामग्रीले पुनः प्रयोगको सम्भावना देखाएका थिए ।
अपसाइकल फेसन शोदेखि नाटकसम्म
उत्सवमा फोहरजन्य वस्तुबाट उत्पादित सामग्रीको प्रदर्शनी र बिक्रीसँगै दिगो फोहर व्यवस्थापन, चक्रीय अर्थतन्त्र तथा प्लास्टिक प्रदूषण न्यूनीकरणसम्बन्धी गतिविधि पनि सञ्चालन गरिएका थिए ।
पुराना तथा प्रयोगविहीन कपडाबाट तयार पारिएका पहिरनमा युवायुवतीले प्रस्तुत गरेको अपसाइकल फेसन शो आकर्षणको केन्द्र बनेको थियो ।
प्रयोग भइसकेका कपडा र अन्य सामग्रीलाई पुनः प्रयोग गरी तयार पारिएका पोसाक तथा झोलाको प्रदर्शन गरिएको उक्त कार्यक्रममा विद्यार्थी तथा मुख्यमन्त्रीलगायतले अवलोकन गरेका थिए ।
पोखरा थिएटरले ‘आरयू’ नाटक मञ्चन गरेको थियो भने बालबालिकामा फोहर व्यवस्थापन, पुनः प्रयोग र वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको कथा पुस्तक पनि विमोचन गरिएको थियो ।
उत्सवमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फोहरलाई विसर्जन गर्नुपर्ने वस्तुका रूपमा मात्र हेर्ने परम्परागत सोच परिवर्तन गर्न उत्सवले सहयोग गरेको बताए । फोहरको पुनः प्रयोग र प्रशोधनबाट नयाँ उत्पादन तथा रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ थियो ।
विश्वले सामना गरिरहेका प्रमुख वातावरणीय चुनौतीमध्ये फोहर व्यवस्थापन पनि एक भएको उल्लेख गर्दै उनले प्राकृतिक स्रोतको संरक्षण, स्थानीय उद्यमशीलताको विकास र रोजगारी सिर्जनाका लागि फोहरलाई मोहरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइक्लिङ तथा अपसाइक्लिङमा आधारित उद्यमलाई बजारसम्म पहुँच र बिक्रीका अवसर उपलब्ध गराउने उद्देश्यले उत्सव आयोजना गरिएको बताए ।
उत्सवले फोहर व्यवस्थापनमा संलग्न उद्यमी, पर्यटन क्षेत्र, निजी कम्पनी तथा सर्वसाधारणबीच सम्बन्ध र सहकार्य विस्तार गर्न सहयोग पुगेको उनको भनाइ थियो ।
फोहरको पुनः प्रयोग र प्रशोधनबाट नयाँ उत्पादन, रोजगारी सिर्जना तथा चक्रीय अर्थतन्त्रको विकास गर्न परियोजना सञ्चालन गरिएको उनले बताए ।
परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाका अनुसार उत्सवमा रिसाइक्लिङ तथा अपसाइक्लिङसम्बन्धी उद्यमका ४२ वटा बिक्री तथा प्रदर्शनीकक्ष राखिएका थिए ।
फोहरलाई समस्याका रूपमा मात्र नभई पुनः प्रयोग र प्रशोधनमार्फत आर्थिक तथा वातावरणीय मूल्य सिर्जना गर्न सकिने स्रोतका रूपमा स्थापित गर्नु उत्सवको मुख्य उद्देश्य रहेको उनले बताए ।
परियोजनाले प्रयोग गर्ने र फाल्ने परम्परागत अभ्यासको सट्टा चक्रीय अर्थतन्त्रमा आधारित रिसाइक्लिङ तथा अपसाइक्लिङ उद्यम स्थापनामा जोड दिएको छ । यस परियोजनामार्फत तीन हजार जनालाई प्रत्यक्ष रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ ।
सहजकर्ता तिमिल्सिनाका अनुसार पोखरामा हाल रिसाइक्लिङ तथा अपसाइक्लिङमा आधारित २३ वटा उद्यम तथा व्यवसाय सञ्चालनमा छन् । त्यस्ता उद्यमलाई परियोजनामार्फत प्राविधिक तथा उपकरण सहयोग उपलब्ध गराइँदै आएको छ ।
परियोजनाअन्तर्गत पोखरा प्रदर्शनी केन्द्रमा निर्माणाधीन ग्रिन भेन्चर जोनलाई रिसाइक्लिङ तथा अपसाइक्लिङसम्बन्धी सिकाइ केन्द्रका रूपमा विकास गरिने भएको छ । उक्त केन्द्रबाट उद्यमीले व्यावसायिक परामर्श, प्रशिक्षण, व्यवसाय प्रवर्धन तथा बजार पहुँच विस्तारका अवसर प्राप्त गर्ने महानगरपालिकाले जनाएको छ ।
स्थानीय स्तरमै फोहरलाई मूल्यवान् स्रोतका रूपमा रूपान्तरण गरी चक्रीय अर्थतन्त्र सुदृढ बनाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा हरित आर्थिक विकासमा योगदान पुर्याउने अपेक्षा परियोजनाले गरेको छ ।




