अर्थ

राष्ट्र बैंकले २०० अर्बको निक्षेप संकलन उपकरण निष्कासन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार ९२ दिन अवधिका लागि उक्त उपकरण बोलकबोलमार्फत निष्कासन गर्न लागिएको हो । यसका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिनेछ । उपकरण पनि सोही दिन निष्कासन हुनेछ ।

बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन् । इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म १० करोडले भाग जाने गरी आवेदन दिन सक्नेछन् ।

बैंक तथा वित्तीय संस्थाले फरक–फरक ब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन् । आवेदनमा आफूले जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गर्नुपर्नेछ । ब्याजदर दशमलवपछाडि चार अंकसम्म राख्न सकिने व्यवस्था छ ।

राष्ट्र बैंकले बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिनेछ । समान ब्याजदरका प्रस्ताव प्राप्त भएमा प्रो–राटा आधारमा रकम बाँडफाँट गरिनेछ । बोल पूर्ण वा आंशिक रूपमा स्वीकृत अथवा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिमा रहनेछ ।

निक्षेप संकलन उपकरणको अवधि आगामी फागुन ५ गतेसम्म रहनेछ । उक्त दिन साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । स्वीकृत बोलबमोजिमको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । खातामा पर्याप्त मौज्दात नभए सम्बन्धित संस्थालाई कालोसूचीमा राखिने चेतावनीसमेत दिइएको छ ।

यो उपकरणमा लगानी गरिएको रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा गणना हुनेछ । तर, अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तरलता अनुपात (एसएलआर) मा भने गणना गर्न सकिनेछ ।

राष्ट्र बैंकले भुक्तानी मितिअघि निक्षेप रकम फिर्ता वा पूर्वभुक्तानी नहुने स्पष्ट पारेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *