काठमाडौं । नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारलाई समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सुकुम्बासीको व्यवस्थापनबिना उनीहरूलाई अस्थायी आश्रयबाट समेत हटाउन खोज्नु अमानवीय र अन्यायपूर्ण भएको निष्कर्ष निकालेको हो ।
कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन तथा लालपुर्जाको आश्वासन दिए पनि महिनौँसम्म अनिश्चिततामा राखेको आरोप लगाएको छ । अहिले होल्डिङ सेन्टरबाट समेत हटाउने निर्णय गर्नु संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको पार्टीको ठहर छ ।
राज्य नागरिकको अभिभावक भएकाले घरबारविहीन नागरिकलाई आश्रय र सुरक्षा दिनुपर्ने कांग्रेसको भनाइ छ । भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या विस्थापन र दमनबाट नभई न्यायपूर्ण, मानवीय तथा दीर्घकालीन समाधानमार्फत सम्बोधन गर्नुपर्ने पार्टीले जनाएको छ ।
कांग्रेसले विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ ।
यसैबीच, होल्डिङ सेन्टरको समन्वय तथा सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।
मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । छलफल जारी रहेकाले बैठकलाई मंसिर ११ गते शुक्रबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने गरी स्थगित गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले पनि आ–आफ्ना धारणा राखेका थिए । केही सदस्यले भने लिखित रूपमा आफ्नो सुझाव तथा धारणा केन्द्रीय कार्यसमितिमा पठाएका थिए ।





