रिबन

हिरासतमा रहेका इनम सापकोटाद्वारा मानव अधिकार आयोगमा सुरक्षा माग, यातना र दबाब दिएको आरोप

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफ्नो ज्यानको सुरक्षा र निष्पक्ष अनुसन्धानको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन् ।

सापकोटाको तर्फबाट उनकी पत्नी कविता पाण्डेले शुक्रबार आयोगमा पाँच पृष्ठ लामो निवेदन दर्ता गराएकी हुन् । आयोगमा दर्ता नम्बर १६४४ रहेको निवेदनमा सापकोटालाई गैरकानुनी रूपमा थुनामा राखिएको, मानसिक यातना दिइएको तथा झुटा मुद्दामा फसाउने प्रयास भइरहेको आरोप लगाइएको छ ।

निवेदनअनुसार गत असोज १४ गते बिहान १०ः३० बजे नयाँदिल्ली जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तिम सुरक्षा जाँचस्थलमा पुगेका बेला सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसक्रममा उनका दुवै मोबाइल फोन नियन्त्रणमा लिएर आँखामा कालोपट्टी बाँधी अज्ञात स्थानमा पुर्‍याइएको र सोधपुछका नाममा विभिन्न दबाब दिइएको दाबी गरिएको छ ।

सापकोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालयन होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिन आफूलाई दबाब दिइएको आरोपसमेत लगाएका छन् ।

निवेदनमा उल्लेख भएअनुसार तीमध्ये केही व्यक्तिसँग आफ्नो राम्रो व्यक्तिगत सम्बन्ध रहेको र केहीसँग चिनजानसमेत नरहेको अवस्थामा फोन सम्पर्ककै आधारमा आफूलाई अपराधीजस्तो व्यवहार गरिएको सापकोटाको जिकिर छ । नियन्त्रणमा लिइएपछि परिवारलाई जानकारी गराइदिन आग्रह गर्दा पनि बेवास्ता गरिएको उनको भनाइ छ ।

त्यस्तै, प्रहरीले तयार पारेका कागजातमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि आफू र परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिइएको तथा बलपूर्वक अडियो रेकर्ड गरेर सार्वजनिक गरिएको आरोप पनि निवेदनमा लगाइएको छ ।

विमानस्थल बाहिर अभद्र व्यवहार गरेको, अवैध विदेशी मुद्रा राखेको र सम्पत्ति शुद्धीकरणको मुद्दा सिर्जना गरेर आफूलाई थुनामा राखिएको सापकोटाको दाबी छ । नियन्त्रणमा लिइएको मोबाइल फोनमा रहेका सामग्री प्रयोग गरी कृत्रिम बुद्धिमत्ता (एआई) मार्फत नक्कली प्रमाण तयार पारिएको हुन सक्ने आशंकासमेत उनले व्यक्त गरेका छन् ।

सापकोटाले आफूविरुद्ध भएका भनिएका घटनाले नेपालको संविधानको धारा २० अन्तर्गतको न्यायसम्बन्धी हक, धारा २८ को गोपनीयताको हक तथा धारा २४ को छुवाछूत तथा भेदभावविरुद्धको हक उल्लङ्घन भएको जिकिर गरेका छन् ।

निवेदनमार्फत उनले आफूलाई नियन्त्रणमा लिने प्रक्रियादेखि अनुसन्धानका क्रममा भएका भनिएका गतिविधि र अनुसन्धानका गोप्य सामग्री सार्वजनिक गर्ने व्यक्तिहरूबारे निष्पक्ष छानबिन गर्न आयोगसँग माग गरेका छन् । साथै, घटनामा संलग्नमाथि आवश्यक कारबाहीको सिफारिस गर्न तथा आफ्नो र परिवारका सदस्यको जिउज्यानको सुरक्षा सुनिश्चित गरिदिन आग्रह गरेका छन् ।

सापकोटाले निवेदनमा लगाएका आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *