काठमाडौँ । विभिन्न सञ्चारमाध्यममाथि प्रहरीले हस्तक्षेप गरेको विरोधमा पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको आयोजनामा बुधबार काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारहरूले सांकेतिक प्रदर्शन गर्दै सरकारलाई मिडियामाथिको हस्तक्षेप बन्द गर्न चेतावनी दिएका छन् ।
‘पत्रकारलाई पटकपटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित प्रदर्शनमा उत्रिएका पत्रकारहरूले प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
पत्रकारहरूले वर्तमान सरकार गठन भएयता विभिन्न सञ्चारगृह र पत्रकारमाथि योजनाबद्ध रूपमा दबाब तथा हस्तक्षेप बढ्दै गएको आरोप लगाएका छन् । सञ्चारगृहका कार्यालय अगाडि प्रहरीका गाडी राख्ने, पत्रकार पक्राउ गर्ने, लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने तथा सरकारी सञ्चारमाध्यमबाट पत्रकारलाई निष्कासन गर्नेजस्ता गतिविधि प्रेस स्वतन्त्रताविरुद्ध रहेको उनीहरूको भनाइ छ ।
महासंघले यी घटनालाई सञ्चार क्षेत्रमाथिको राज्यको दबाब र नियन्त्रणको प्रयासका रूपमा लिएको जनाएको छ । पत्रकारहरूले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु राज्यको दायित्व भएको भन्दै सञ्चारमाध्यमलाई त्रसित पार्ने गतिविधि तत्काल रोक्न माग गरेका छन् ।
प्रदर्शनका क्रममा पत्रकारहरूले व्यक्तिगत रूपमा पक्राउ गरेर आवाज दबाउन खोजिए सामूहिक रूपमा गिरफ्तारी दिनसमेत तयार रहेको सन्देश दिएका छन् ।
मिडियामाथिको हस्तक्षेप र पत्रकारमाथिको धरपकड नरोकिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी महासंघले दिएको छ । प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारको निर्बाध रूपमा काम गर्न पाउने अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने उनीहरूको भनाइ छ ।




